काठमाडौँ– निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रता दिएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको निर्वाचन आयोगले जनाएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आइरहेको छ ।
केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म बिभिन्न राजनीतिक दल, उम्मेदवार र संघसंस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको छ ।
त्यसमध्ये पाँच वटाको मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको हो । आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या एवम् भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनीकार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवद्र्धन इकाइ पूूर्णरूपमा क्रियाशिल रहेको आयोगले जनाएको छ ।
सो इकाइले पत्ता लगाएका कूल ३०२ हानीकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारवाहीका लागि सम्वद्ध निकायमा पठाइएको आयोगले जनाएको छ ।