पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा विद्यालयस्तरीय विपद् सचेतना तथा अभ्यास कार्यक्रम सञ्चालन गरिएको छ। नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका विद्यालयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतना तथा अभ्यास कार्यक्रम सञ्चालन गरेको हो।
विपद्को समयमा अपनाउनुपर्ने सावधानी, पूर्वतयारी तथा उद्धारका उपायबारे विद्यार्थी र सरोकारवालालाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयो।
कार्यक्रममा भूकम्प, बाढी, आगलागीलगायत सम्भावित विपद्का समयमा हुन सक्ने जोखिम न्यूनीकरण, सुरक्षित स्थानमा जाने तरिका तथा विपद्पश्चात् गरिने उद्धार र व्यवस्थापनका विषयमा अभ्यास गराइएको नगरप्रमुख यादवले बताउनुभयो।
विद्यालय तहदेखि नै विपद् व्यवस्थापनसम्बन्धी ज्ञान र सीप विकास गर्न सके विपद्का समयमा हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ। कार्यक्रममार्फत विपद् आउनुअघि आवश्यक तयारी गर्ने, जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने तथा आपत्कालीन अवस्थामा समन्वय गरी उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउने विषयमा समेत सचेतना प्रदान गरिएको थियो।
आगलागी, भूकम्प, हावाहुरी र बाढीलगायत विपद्का विषयमा विद्यार्थीका जिज्ञासा सम्बोधन गर्दै सशस्त्र प्रहरी बल २६ नम्बर गणका टेकबहादुर घर्ती मगरले जनता माध्यमिक विद्यालय, सुक्रौलीमा र लक्ष्मण थापाले जनता माध्यमिक विद्यालय, डैनाहवामा सहजीकरण गर्नुभएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आगामी असोज २३ गतेसम्म अन्य आठवटा माध्यमिक विद्यालयमा समेत विपद्सम्बन्धी सचेतना तथा अभ्यास कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीलाई सहभागी गराइएको छ।
विद्यालयस्तरमै विपद् जोखिम न्यूनीकरणसम्बन्धी ज्ञान र व्यवहारिक अभ्यास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको रामग्राम नगरपालिकाकी विपद् सम्पर्क व्यक्ति सुमित्रा चौधरीले जानकारी दिनुभयो।