नवलपरासी । नेपाली राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको चोटको शल्यक्रियाका लागि विभिन्न निकायहरूले सहयोग संकलन गर्न थालेका छन् । भण्डारीलाई न्यूजिल्याण्डको क्लबमा आबद्ध भई ए लिग खेल्ने क्रममा घुँडामा चोट लागेको हो ।
सावित्राले उपचारका लागि एन्फा र सरकारबाट सहयोग नपाएको गुनासो गर्नु भएको छ । ‘अघिल्लो साता एन्फा अध्यक्ष आफैँले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभएको थियो । यसअघि मैले चालेको प्रक्रिया रोकियो, झण्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरि प्रयास गर्नुपर्ने भएको छ,’ उहाँले भन्न्भयो ।
साम्बाले आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने बताउनु भएको छ । उहाँको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुबैमा गम्भीर चोट लागेकोले पुनः शल्यक्रिया गर्नु पर्ने अवस्था आएको उहाँको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
साम्बाको घुँडाको शल्यक्रिया कतारस्थित अस्पेटार अस्पतालमा गर्ने तयारी गरिंदैछ । यसअघि पनि सोही अस्पतालमा उहाँको उपचार गरिएको थियो । उहाँले उपचारकालागि सहयोग मागेसँगै नेपाल र विदेशबाट पनि सहयोग जुट्न थालेको बुझिएको छ । एक्स्ट्रिम एनर्जी ड्रिंकले साम्बालाई उपचार खर्चकालागि ५ लाख दिने घोषणा गरेको छ ।
नेपाली कांग्रेसले कप्तान भण्डारी ‘साम्बा’ लाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमाफर्त साम्बाको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराउनु भएको हो ।
यस्तै अनेरास्ववियुका अध्यक्ष दीपक धामीले ५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ । अनेरास्ववियुले आर्थिक संकलनका लागि ‘हिल साम्बा’ सहयोग अभियान सुरू गरेको हो । देशभर रहेका तहगत कमिटीहरूलाई सक्रिय रूपमा परिचालन भई पारदर्शी र उत्तरदायी ढंगले सहयोग संकलन अभियान सञ्चालन गर्न निर्देशन गरिएको अनेरास्ववियुले जनाएको छ ।
विदेशबाट ४७ हजार ४८३ न्युजिल्यान्ड डलर अर्थात ४१ लाख १३ हजार ८०८ नेपाली रुपैयाँ प्राप्त भएको छ । यो समाचार तयार पार्दासम्म उहाँलाई स्वदेश र विदेशबाट गरी करिव ५० लाख बढी रकम सहयोग प्राप्त भएको जनाइएको छ । फूटबल कप्ताल साम्बाले एन्फा नेतृत्वले उनको उपचारमा बेवास्ता भएकोले सहयोगका लागि अपिल गर्नु भएको हो ।