नवलपरासी । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा ९ र महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु पड्किदा दुई बालबालिका सहित चार जना घाइते भएकोप्रति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान(सिजप)को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
धनुषा जिल्लाको मिथिला नगरपालिका वडा ९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गको बडहरी पुलमाथि शंकास्पद वस्तु पड्किदा मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेलको दायाँ–बायाँ खुट्टामा चोट लागेको र स्थायी घर गुल्मी भई हाल मामा रिठबहादुर मगरको घरमा बस्दै आएका ८ वर्षीय सुशील माझीको हात, खुट्टा र छातीमा चोट लागेको छ ।
दुवै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सिजपले यस्ता प्रकृतिका घटनाबाट घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध मिलाउनको लागि सबद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
त्यस्तै बर्दिबास नगरपालिका–१ स्थित रातो पुलमा शंकास्पद वस्तु पड्किदा कैलाली घोडाघोडी–१० का २५ वर्षीय सन्देश चौधरी र २२ वर्षीय समीर चौधरी घाइते भएको घटनाको पनि ध्यानाकर्षण भएको जनाएको छ ।
देशका विभिन्न स्थानहरू, सुर्खेतको छिन्चुमा, रौतहट जिल्लाको चन्द्रपुर–५, राजपैडास्थित आधुनिक प्रा.वि. स्कुलबाट करिब २ सय मिटर दक्षिणमा, कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइड नजिकको लालुपाते मार्गमा, कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्वपश्चिम राजमार्गमा, मोरङ जिल्ला प्रशासन कार्यालय अगाडि शंकास्पद वस्तु भेटिएका छन् ।
काठमाडौँको नैकाप र सुकेधारामा गाडीहरूमा आगो लगाइएको घटना सार्वजनिक भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मौन अवधिमा भएको यस्तो घटनाले आम सर्वसाधरणको साथै बालबालिकामाथि सुरक्षा जोखिम बढेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु÷गराउनु पर्नेमा यस्तो घटनामा अझ बालबालिका पर्नु दुःखद छ । निर्वाचनमा अधिकांश मतदान स्थलहरू विद्यालयमा बनाइएकोले यस्तो घटनामा विद्यालय र बालबालिका जोखिममा पर्न सक्छन् र बालबालिकामा झनै गम्भीर समस्याहरू पर्नसक्ने भएकोले सम्बद्ध सबै पक्षको सिजपले ध्यानाकर्षण गराएको छ ।
बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकार, संरक्षित हुने अधिकारप्रति प्रतिबद्ध हुन सम्पूर्णमा अपिल गर्दछौँ । बालबालिकाको सुरक्षित तथा संरक्षित जीवन सुनिश्चितताको लागि नेपाल सरकार सम्बद्ध संवैधानिक, कानूनी, नीतिगत, संरचनागत तथा कार्यक्रमिक रूपमा प्रतिबद्ध रहेको नै छ । यसका साथै बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि उचित उपाय अवलम्बन गर्न स्थानीय तहलाई प्रोत्साहन गरेको छ ।
यस्ता घटनाहरू दोहोरिन नदिनको निम्ति सचेतना अपनाउन आफ्ना बालबालिकालाई आफ्नो संरक्षणमै राख्न घरमै छलफल गरी उनीहरूसँगै समय बिताउन अभिभावकहरूलाई समेत हार्दिक अनुरोध गर्दछौँ सिजप विज्ञप्तीमा भनेको छ ।
भयरहित वातावरणमा खेल्न, हिड्न र विद्यालय शान्तिक्षेत्र हुन् भन्ने मान्यतालाई आत्मसात् गर्दै विभिन्न सरकारी निकाय, राजनीतिक दल, क्रियाशील राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय नागरिक सङ्घ संस्था, निजी क्षेत्र सम्बद्ध सबैमा बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्न सिजपका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेले अनुरोध गर्नुभएको छ ।
