नवलपरासी । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि विघटित प्रतिनिधि सभाको निर्वाचन आज देशभर एकै चरणमा हुँदैछ। आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ । देशभर प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार १३५ जना उम्मेदवारहरू प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार देशभर कुल १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ वटा मतदान केन्द्र निर्माण गरिएको छ।
निर्वाचनमा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिक तर्फ ११० जना गरी कुल २७५ जना सांसद निर्वाचित हुनेछन्। आज हुने प्रतिनिधिसभा निर्वाचनमा योग्य मतदाता १ करोड ८९ लाख ३ हजार ६८९ रहेका छन् । यस पटक नौ लाख १५ हजार ११९ जना मतदाता थपिएका हुन् । जसमा पुरुष मतदाताको सङ्ख्या ९६ लाख ५० हजारभन्दा बढी र महिला मतदाताको सङ्ख्या ९२ लाख बढी रहेको छ।
प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ ५७ र प्रत्यक्षतर्फ ६६ वटा दल एवं स्वतन्त्र उम्मेदवार सहभागी छन् । निर्वाचन आयोगका अनुसार नेपाली काङ्ग्रेसले मात्र सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि देशभर करिब ३ लाख ४० हजार सुरक्षाकर्मी र दुई लाख पन्ध्र हजार कर्मचारी परिचालन गरिएको छ। जस अन्तर्गत नेपाल प्रहरीका ७५ हजार ७९७ जना, नेपाली सेनाका ७९ हजार ७२७ जना, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ जना, निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जना परिचालन गरिएको छ । यस्तै राष्ट्रिय अनुसन्धान विभागबाट निर्वाचन अनुगमनका लागि १ हजार ९२१ जना र कर्मचारी २ लाख १५ हजार जना परिचालन भएका छन् ।
यता नवलपरासीमा आज हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ। जिल्लामा १२२ वटा मतदान स्थल, २९७ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। नवलपरासीको क्षेत्र नम्बर १ मा कुल २६ जना र क्षेत्र नम्बर २ मा २९ जना गरी कुल ५५ जना उम्मेदवार रहेको बताइएको छ ।
जिल्लामा संवेदनशील मतदान स्थल ५६ वटा र १२ वटा अति संवेदनशील मतदान स्थल रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ
जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा कुल २ लाख ५४ हजार १५७ जना मतदाता रहेका छन् । जसमा १ लाख २९ हजार १८३ जना पुरुष र १ लाख २४ हजार ९७० जना महिला छन्। भने अन्य चारजना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
निर्वाचन आयोगले जेष्ठ नागरिक, दीर्घरोगी, अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकताका साथ मतदान गराउने व्यवस्था मिलाएको जनाएको छ भने प्रत्येक मतदान केन्द्रमा पुरुष र महिलाको छुट्टाछुट्टै लाइन बनाइएको छ।
मतदाता नामावलीमा सूचीकृत मतदाताले आज प्रतिनिधिसभाको निर्वाचनमा मतदाता परिचयपत्र वा अन्य पाँच प्रकारका परिचयपत्रमध्ये एउटा देखाएर मत दिन पाउनेछन् । निर्वाचन आयोगका अनुसार नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल देखाएर मत दिन पाउने व्यवस्था गरिएको छ।