परासी । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार २०८२ चैत ५ देखि ७ गतेसम्म मौसममा बदली भई वर्षा र हिमपातको प्रभाव रहनेछ।
चैत ५ गते (बिहीबार) कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा, साथै लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
चैत ६ गते (शुक्रबार) कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा गण्डकी, लुम्बिनी र कोशी प्रदेश का पहाडी/हिमाली भू–भागमा भारी वर्षा र हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ।
सोही दिन लुम्बिनी तथा पूर्वी नेपालका विराटनगर, धनकुटा र धरान क्षेत्रमा करिब १०० किमि प्रतिघण्टासम्मको वेगमा हावाहुरी चल्ने जोखिम रहेको छ।
चैत ७ गते (शनिबार) बागमती प्रदेश, कोशी लगायत देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा/हिमपात र अन्य स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना रहनेछ।
मौसमका कारण रुख ढल्ने, छाना उड्ने र सञ्चार सेवा अवरुद्ध हुन सक्ने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरिएको छ।
नागरिकलाई घरका झ्याल–ढोका बन्द गर्न, विद्युतीय उपकरण सुरक्षित राख्न तथा अग्ला रुख वा कमजोर संरचनामुनि नबस्न विशेष सचेतना अपनाउन विभागले अनुरोध गरेको छ।
