चेली सम्वाददाता बर्दघाट । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १३ स्थित जहदा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोश्रो बार्षिक साधारण सभा तथा नव निर्मित सभाहलको समुदघाटन आज (शुक्रबार) सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग, बर्दघाट नगरपालिकाको समन्वय र खानेपानी उपभोक्ता समितिको सक्रियतामा सभाहलको निर्माण गरिएको हो । ५० लाखको लागतमा सभाहल निर्माण सम्पन्न गरी आज समुदघाटन गरिएको हो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षता र लुम्बिनी प्रदेशका पूर्व साँसद एवं नेकपा एमाले नवलपरासी जिल्लाका अध्यक्ष दिपेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यमा साधारण सभा तथा नव निर्मित सभाहलको समुदघाटन गरिएको छ ।
सो अवसरमा पूर्व साँसद अधिकारीले बर्दघाटको खानेपानी व्यवस्थापनमा थुप्रै आयोजना संचालन गरिएको स्मरण गर्नुभयो । उहाँले जिल्लाका विभिन्न पालिकामा खानेपानी व्यवस्थापनका लागि ओभरहेड ट्याङ्कि निर्माण गरिएको बताउनु भयो । पूर्व साँसद अधिकारीले आफू जनप्रतिधिहुँदा जनताको भावना अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार र खानेपानीका क्षेत्रमा काम गरेको बताउनु भयो ।
बर्दघाट वडा नं. १२ अन्तर्गतका ९ वटा गाउँ, वडा नं. १३ अन्तर्गतका ५ वटा गाउँ र प्रतापपुर गाउँपालिकाको वडा नं.१ को ६७ घरधुरीका उपभोक्ताहरुलाई दैनिक २४ घण्टा पानी वितरण गर्दै आएको संस्थाले गत आर्थिक बर्ष २०८१।०८२ मा ४ लाख ४२ हजार १२९ रुपैया नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत बर्ष ५९ लाख ८९ हजार ४३२ रुपैयाको बार्षिक कारोबार गरेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थागत प्रतिवेदन संस्थाका सचिव गजेन्द्रबहादुर जिसी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष मेनुका आचार्य, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक कृष्णप्रसाद काफ्लेले प्रस्तुत गर्नु भएको थियो । तीनै जना पदाधिकारीबाट प्रस्तुत भएका प्रतिवदेनहरु सर्वसम्मत पारित भएको संस्थाका सचिव जिसीले जानकारी दिनुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले जहदा खानेपानीले नगरपालिकासँग सधै सहकार्य गरेर काम गर्ने गरेको बताउनु भयो । उहाँले स्थानीय उपभोक्ताहरुको साथ सहयोगले नगरपालिकाले लिएको एक घर एक धारा अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले सक्ने उपभोक्ताले आफै जडान गर्ने र नसक्ने उपभोक्तालाई धारा जडानका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जहदा पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष सुरज केसी, खानेपानी तथा सरसफाई कार्यालय नवलपरासीका कार्यालय प्रमुख दिनेश प्रसाद शाह, संस्थामा उपाध्यक्ष मनोहर रायमाझी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको सचिव गजेन्द्रबहादुर गिरीले जानकारी दिनुभयो ।