नवलपरासी । रामग्राम नगरपालिकाका १८ वटै वडाका २६ स्थानमा आज धुमधामका साथ छठ पूजा मनाइँदैछ। छठ पर्वलाई व्यवस्थित र सहज रूपमा मनाउन नगरपालिकाको सहयोगमा विभिन्न नदी किनार, पोखरी तथा जलाशय आसपासका क्षेत्रमा छठघाट व्यवस्थापन गरिएको छ।
नगरपालिकाले जेसीबी तथा एक्साभेटरको प्रयोग गरी २६ वटै स्थानमा छठघाट सरसफाइ, सम्याउने तथा पूजा व्यवस्थापनका काम गरेको हो। यसका लागि नगरपालिकाले करिब ६ लाख ५० हजार रुपैयाँ खर्च गरेको जनाएको छ।
रामग्राम नगरपालिका–२ स्थित झरही खोला किनारमा मात्रै छठ पूजाका लागि झन्डै १ हजार ५०० वटा छठ बेदी निर्माण गरिएको छ। उक्त स्थानमा हरेक वर्ष ठूलो संख्यामा श्रद्धालुहरू भेला भएर छठ पूजा गर्ने गरेका छन्।
नगरपालिकाभित्र वडा नम्बर १ मा ३, वडा नम्बर २ मा २, वडा नम्बर ४ मा ३, वडा नम्बर ६ मा १, वडा नम्बर ८ मा ५, वडा नम्बर ९ मा २, वडा नम्बर १० मा ३, वडा नम्बर ११ मा १, वडा नम्बर १३ मा २, वडा नम्बर १४ मा १, वडा नम्बर १५ मा ३, वडा नम्बर १६ मा १, वडा नम्बर १७ मा २ र वडा नम्बर १८ मा १ स्थानमा छठघाट व्यवस्थापन गरिएको छ।
प्रत्येक वर्ष छठ पर्वका अवसरमा स्थानीय समुदायलाई आवश्यक सहयोग गर्दै आएको नगरपालिकाले यस वर्ष पनि विभिन्न स्थानमा छठघाट व्यवस्थापनमा सहयोग गरेको नगर प्रमुख धनपत यादवले बताउनुभयो।
छठ पर्वका अवसरमा श्रद्धालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिनेछन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै विधिपूर्वक छठ पर्व सम्पन्न हुनेछ।