परासी । बर्दघाट नगरपालिकाको बाल्मिकी मा.वि.ले नगरमा पहिलो पटक समावेशी शिक्षा लागू गरेको छ । अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा कामगर्दै आएको सहयात्री नेपालसंगको समन्वयमा नगरपालिकाले समावेशी शिक्षा शुरु गरेको विद्यालयकी प्रधानाध्यापक रामकुमारी पाध्यायले बताउनु भयो ।
सहयात्री नेपाल मार्फत बर्दघाट–१४ का १० जना र अन्य १७ जना गरी २७ जना अपाङ्गता भएका बालबालिकालाई सहजरुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि अन्य दुई संस्थाहरूले सहयोग गरेका छन् । फाउण्डेसन अड्रे ज्याकब र सामा नामक सस्थाले सहयोग गर्ने गरी विद्यालयमा पहिलो पटक समावेशी शिक्षा शुरु गरिएको हो ।
शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, श्रवणशक्ती नभएका र दृष्टिविहीन, स्वर बोलाइ सम्बन्धी समस्या भएका, मानसिक अपाङ्गता, बहु अपाङ्गता भएकाहरूका लागि तालिम प्राप्त शिक्षकहरुले छुट्टै कक्षा कोठाको ब्यवस्था गरेर समावेशी शिक्षा अध्यापन गर्न लागिएको प्रधानाध्यापक पाध्यायले जानकारी दिनु भयो ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरका सबै प्रकृतिका बालबालिकाहरूलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने गरी नगर अघि बढेको बताउनु भयो । उहाँले स्थानीय सरकारसँग सबैको हातेमालो भए सकारात्मक कामको सुरुवात हुने र त्यसले नतिजा पनि सकारात्मक ल्याउने बताउनु भयो ।
नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले अपाङ्ता भएका बालबालिकाहरुको भविस्य उज्जवल बनाउने कार्यमा सहयात्री नेपालले राम्रो काम गरेको भन्दै प्रशंसा गर्नु भयो । सो अवसरमा सस्थाकी अध्यक्ष तिलकुमारी श्रेष्ठले सस्थाको मर्म र उद्देश्य अनुरुप स्थानीय तहहरूले अपनत्व लिन सके कोहि पनि शिक्षाबाट बन्चित हुनु नपर्ने बताउनु भयो ।