काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र तयार गर्ने क्रममा विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग छलफल सुरु गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बिहिबार आयोजित छलफल कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रका प्राथमिकताबारे विज्ञहरूसँग धारणा राख्नुभएको हो।
अध्यक्ष ओलीले एमाले सुदृढ संगठन, व्यापक जनसमर्थन र उच्च लोकप्रियताका साथ स्थापित पार्टी भएको उल्लेख गर्दै भूकम्पपछिको भौतिक क्षति पुनर्निर्माणमा पार्टीले उदाहरणीय सफलता हासिल गरेको बताउनुभयो।
उहाँले एमालेले विगतमा राष्ट्रिता, लोकतन्त्र र संविधान पुनःस्थापनाका साथै भूकम्पपछिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गर्नुभयो। अध्यक्ष ओलीले हाल राज्यका संरचनाहरूको गतिविधि र कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै सरकारले अहिलेसम्म पनि निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाउनुभयो।
राष्ट्रिता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा कुनै हालतमा आत्मसमर्पण गरेर सम्भव नहुने उल्लेख गर्दै त्यसका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा आवश्यक रहेको उहाँको भनाइ थियो।
पार्टीले देशलाई पहिलो प्राथमिकतामा राख्दै समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुख सुनिश्चित गर्ने उद्देश्यसहित घोषणापत्र तयार गरिरहेको जनाएको छ।
एमालेले व्यवहारिक र पाँच वर्षभित्र ठोस उपलब्धि हासिल गर्न सकिने कार्यक्रमहरू समेटेर घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको प्रचार संयोजक मिनबहादुर शाहीले नेपाली चेली अनलाइनलाई जानकारी दिनुभयो
