बुटवल । लुम्बिनी प्रदेश सरकारका तीन जना नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष बुटवलमा नवनियुक्त स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँडकेसी लगायतको विशेष उपस्थितिमा शपथग्रहण समारोह आयोजना गरिएको थियो । प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री आचार्यको सिफारिसमा सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको हो ।
मन्त्रिपरिषद् पुनर्गठनसँगै तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहनु भएका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । केन्द्रमा आएको राजनीतिक परिवर्तनसँगै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीसँग सत्ता साझेदारी अघि बढेको हो ।
लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेपाली कम्युनिस्ट पार्टीका १३, जनता समाजवादी पार्टी, नेपालका ५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, जनमत पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र १ जना स्वतन्त्र गरी ८३ जना सदस्य छन् ।