परासी । पश्चिम नवलपरासीमा स्वास्थ्य सूचकका आधारमा रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल भएको छ । स्वास्थ्य कार्यालय नवलपरासीको वार्षिक समीक्षा कार्यक्रम अन्तर्गत जिल्लाका सातवटै स्थानीय तहका स्वास्थ्य शाखाको मूल्याङ्कन गर्दा रामग्राम नगरपालिका प्रथम हुन सफल भएको हो ।
स्वास्थ्य कार्यालयले २९ वटा स्वास्थ्य सूचकलाई आधार बनाएर गरेको मूल्याङ्कनमा रामग्राम नगरपालिकाले ७८.५३ अङ्क प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ । यस्तै ७७.८९ अङ्कसहित सरावल गाउँपालिका दोस्रो र ७६.९७ अङ्कसहित प्रतापपुर गाउँपालिका तेस्रो भएका छन् ।
मूल्याङ्कनमा ७४.४९ अंक सहित बर्दघाट नगरपालिका चौथो, ७४.४० अंक सहित सुस्ता गाउँपालिका पाँचौँ, ७२.६२ अंक सहित सुनवल नगरपालिका छैठौँ र ७१.३३ अंक सहित पाल्हीनन्दन गाउँपालिका सातौँ स्थानमा रहेका छन् ।
यसैगरी, स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०८२l०८३ मा उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा नगरपालिकातर्फ बर्दघाट नगरपालिका–९ स्थित पञ्चनगर स्वास्थ्य चौकी र गाउँपालिकातर्फ प्रतापपुर गाउँपालिका–७ स्थित गुठी सूर्यपुरा स्वास्थ्य चौकीलाई छनोट गरेको छ ।
उत्कृष्ट स्वास्थ्य संस्था घोषणा गरिएका पञ्चनगर स्वास्थ्य चौकीका स्वास्थ्य अधिकृत बाबुराम तिमिल्सिना र गुठी सूर्यपुरा स्वास्थ्य चौकीका सिनियर अहेव कौशलकुमार यादवलाई कार्यक्रममा सम्मान गरिएको छ ।
स्वास्थ्य सूचकमा पालिकाहरूबीच गरिएको मूल्याङ्कनले स्थानीय तहमा स्वास्थ्य सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रका उपलब्धिलाई थप प्रभावकारी बनाउन प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासी प्रमुख अंगदवहादुर शाही, द ल्याप्रोसी मिसन टु नेपालका प्रमुख सुमन ज्ञवाली, रामग्राम नगरपालिकाका जनस्वास्य निरिक्षक सुरज हरिजन, स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत यवदेव न्यौपाने लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको कार्यालयका बरिष्ठ मलेरिया इनिस्पेक्टर देवीलाल पौडेलले जानकारी दिनुभयो ।
यसैबीच स्वास्थ्य कार्यालय नवलपरासीले आर्थिक बर्ष २०८२।०८३ को बार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी समापन गरिएको छ ।
स्वास्थ्य कार्यालय नवलपरासी, जिल्लाका सातै वटै पालिकाका स्वास्थ्य शाखा र विभिन्न साझेदार संघसंस्थाको स्वास्थ्य सम्बन्धी कार्यक्रमको बार्षिक समिक्षा र आगामी योजना तर्जुमा गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको थियो ।
जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनको प्रमुख आतिथ्यमा समिक्षा कार्यक्रम गरिएको हो ।