परासी । मानव बेचबिखन तथा लैङ्गिक हिंसामुक्त समाज निर्माणको उद्देश्यसहित नवलपरासीको महेशपुर नाकाबाट काम गर्दै आएको आफन्त नेपालले आर्थिक वर्ष २०८२।०८३ मा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।
संस्थाले मंगलबार आर्थिक वर्ष २०८२।०८३ को वार्षिक उपलब्धि सार्वजनिक गर्दै सीमा नाकामा मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्धको अभियानलाई निरन्तरता दिइरहेको जनाएको हो ।
आफन्त नेपालकी जिल्ला संयोजक बिपना सुनारका अनुसार गत आर्थिक वर्षमा संस्थाले ४ हजार ५३३ जनालाई सूचना सम्प्रेषण, १ हजार ६३७ जनालाई परामर्श, ३९ जनाको उद्धार तथा अवरोध र ३९ वटा केस व्यवस्थापन गरेको छ ।
त्यस्तै, १४ जनालाई आकस्मिक आवास गृह सेवा, ३४ जनालाई पारिवारिक पुनर्मिलन, ५ जनालाई सेफ होम सेवा र ९७ जनालाई फलोअप सेवा प्रदान गरिएको संयोजक सुनारले जानकारी दिनुभयो ।
आफन्त नेपालले मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि नेपालका १४ वटा सीमा नाका तथा भारतको दिल्लीमा ‘आफन्त इन्डिया’ नामबाट अभियान सञ्चालन गर्दै आएको छ। संस्थाले बेचबिखनमा परेका तथा जोखिममा रहेका महिला तथा किशोरीलाई मनोसामाजिक परामर्श, कानुनी सेवा र सामाजिक नेतृत्व विकाससम्बन्धी तालिमसमेत प्रदान गर्दै आएको जनाएको छ ।
सीमा नाकामा रहेर मानव बेचबिखनविरुद्ध काम गर्दा विभिन्न चुनौतीसँगै महत्वपूर्ण सिकाइसमेत प्राप्त भएको संस्थाले जनाएको छ। आर्थिक अभाव तथा पारिवारिक दबाबका कारण कम उमेरका किशोरीहरू जोखिमपूर्ण काममा लाग्न बाध्य हुने गरेको पाइएको छ ।
त्यस्तै, राम्रो आम्दानीको प्रलोभनमा किशोरी तथा युवतीहरूलाई भारतका विभिन्न सहरमा अश्लील आर्केस्ट्रालगायत जोखिमपूर्ण क्षेत्रमा लैजाने प्रयास हुने गरेको संस्थाको अनुभव छ। साथीभाइ तथा छिमेकीको लहैलहैमा घरबाट भाग्ने घटना र उद्धारपछि पारिवारिक पुनर्मिलनमा समेत चुनौती देखिएको बताइएको छ ।
संयोजक सुनारले सीमा क्षेत्रमा निरन्तर निगरानी, सूचना प्रवाह, परामर्श, उद्धार तथा पुनःस्थापनामार्फत मानव बेचबिखनको जोखिम न्यूनीकरणमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले मानव बेचबिखन रोक्न परिवार, समुदाय, स्थानीय तह तथा सरोकारवाला निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।