परासी । विश्व वातावरण दिवस २०२५ को अवसरमा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले नगर सरसफाई र बृक्षारोपण कार्यक्रम गरेको छ । जिल्लाका विभिन्न पालिकाहरू, सरकारी गैर सरकारी निकायहरूको सहयोग र सहकार्यमा बृहत सरसफाई र बृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइएको सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीले जानकारी दिनु भयो ।
रेडियोले गएको १० बर्षदेखि निरन्तर बार्षिक रुपमा राष्ट्रिय सरसफाई सप्ताह पनि मनाउँदै आएको छ । आजदेखि शुरू भएको सरसफाई सप्ताहको समुदघाटन पनि गरिएको रेडियो परासीका अध्यक्ष रेश्मीले बताउनु भयो । अध्यक्ष रेश्मीले आगामी जेष्ठ २८ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले नगर सौन्दयीकरणमा नगरपालिकासँग हातेमाले गरी काम गर्न रेडियो परासी लगायत अन्य संघसंस्थाहरूलाई पनि आब्हान गर्नुभयो । उहाँले सवै नगरवासीहरूको साथ र सहयोगले अहिले नगरक्षेत्रको सरसफाई र शहर सौन्दयीकरणमा व्यापक सुधार हुँदै गएको बताउनु भयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैर, सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम, स्टेशन म्यानेजर विकास अधिकारी लगायतले सप्ताहव्यापी कार्यक्रमको भव्य सफलतालको शुभकामना व्यक्त गर्नु भएकोछ ।
कार्यक्रममा रामग्राम नगरपालिका, खानेपानी र सरसफाई कार्यालय, डिभिजन वन कार्यालय, स्वास्थ्य कार्यालय, नवलपरासी, द ल्याप्रोसी मिसन नेपाल, इन्द्रेणी सामाजिक विकास मञ्च, सुनवल सामुदायिक विकास केन्द्र लगायतका दर्जन वढी संघसंस्था र खानेपानी उपभोक्ता संस्थाहरूको सहकार्य रहेको छ ।
