परासी । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि ३ दिने क्षमता अभिबृद्धि सम्बन्धी तालिम बुधबार बुटबलमा सम्पन्न भएको छ । रामग्राम र तिलोत्तमा नगरपालिकामा हिंसा रोकथामको क्षेत्रमा कार्यरत सेवा प्रदायकहरूको सहभागीतामा क्षमता अभिबृद्धि तालिम गरिएको हो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजना र द वर्ड बैङ्कको सहकार्यमा तालिम गरिएको हो । दुबै पालिकामा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना पाइलट परियोजनाको रुपमा सञ्चालनमा छ ।
तीन दिनसम्म दुबै पालिकामा सञ्चालित परियोजनाको उद्देश्य, लैङ्गिक हिंसा, यसका प्रकार, हिंसा बिरुद्धको कानूनी व्यवस्था, संस्थागत संरचना र कानूनी सहायता लगायतका बिषयमा नेपाल ल क्याम्पसका उपप्रध्यापक डा. विष्णु बस्यालले सहजिकरण गर्नु भएको छ ।
तालिममा डा बस्यालले पिडित केन्द्रीय न्याय प्रणालीमा पिडितको अवस्था पहिचान गरी उसलाई पुगेको पिडालाई समाप्त गर्नु पर्ने बताउनु भयो । उहाँले हिंसाजन्य घटनामा परि न्यायका लागि आउने विपन्न, सिमान्तकृत, महिला, अपाङ्गता, जेष्ठ नागरिक, बालबालिकालाई एकद्धार सेवा प्रणालीबाट स्वास्थ्य सेवा र कानूनी उपचार गर्न जोड दिनुभयो ।
तालिम कार्यक्रममा परियोजनाका व्यवस्थापक ममता विष्ट, परियोजना संयोजक पूर्णा श्रेष्ठ, लैङ्गिक हिंसा विज्ञ अप्सरा कार्की, संगिता मयुर, अनुप खड्का, पविना मिश्र लगायतले लैङ्गिक हिंसा सम्बन्धी केश व्यवस्थापन, आगामी कार्ययोजना निर्माणका बिषयमा सहजिकरण गर्नु भएको हो ।
यस्तै कार्यक्रममा इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक अक्षयकुमार रावलले डिजिटल अपराध र सामाजिक सञ्जालको प्रयोगमा ध्यानदिनु पर्ने बिषयमा सहजिकरण गर्नु भएको छ ।
तालिम कार्यक्रममा प्यानल छलफल पनि गरिएको छ । छलफलमा लैङ्गिक हिंसा न्यूनिकरणका बिषयमा बहस गरिएको हो । बहस कार्यक्रम केन्द्रीय युवा संजालका संयोग ठकुरीले सञ्चालन गर्नु भएको थियो ।
सो अवसरमा लैङ्गिक हिंसा न्यूनिकरण परियोजनाका बिज्ञहरू अप्सरा कार्की, संगिता मयुर र अनुप खड्का त्यस्तै युएनएफपिए लुम्बिनी प्रदेशका व्यवस्थापक राम थापा र तिलोत्तमा नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख संझना भण्डारीको सहभागीता रहेको थियो । छलफलमा बिषय विज्ञहरूले अनुभव साटासाट गर्दै आगामी दिनमा गर्नु पर्ने कामका विषयमा प्रकाश पारेका छन् ।
परियोजना सञ्चालन भएका रामग्राम र तिलोत्तमा नगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष स्थापना र परिचालन, बहुसरोकारवाला निकायबीच प्लेट फर्म निर्माण, ओसिएमसी र सेफ हाउसलाई थप प्रभावकारी बनाउने र सर्भिस प्रोभाइडरहरूको क्षमता बिकास कार्यलाई प्रभावकारी बनाउँदै लगिरहेको बताइएको छ ।
तालिममा रामग्राम र तिलोत्तमा नगरपालिका भित्रका ३० जना सेवा प्रदायकहरूको सहभागीता रहेको थियो ।