नवलपरासी — नयाँ वर्ष २०८३ को अवसर पारेर रामग्राम नगरपालिकाले प्लास्टिक मुक्त अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। डिभिजन वन कार्यालय नवलपरासीको आयोजनामा सम्पन्न कार्यक्रममा वातावरण संरक्षणका लागि यस्तो अभियान अघि सारिएको हो।
कार्यक्रम डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख राजु क्षेत्रीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले नगरलाई स्वच्छ र वातावरणमैत्री बनाउन सबै सरोकारवालाहरूलाई अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभयो।
डिभिजन वन कार्यालयका प्रमुख क्षेत्रीले प्लास्टिक मुक्त अभियानलाई प्रभावकारी र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा वातावरणविद् सुदीप पौडेलले प्लास्टिक प्रदूषण नियन्त्रणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, सामुदायिक रेडियो परासीका संस्थापक अध्यक्ष सुमन गोपाल आचार्य, कोषाध्यक्ष चन्द्रमणि चौधरी, प्रबन्ध निर्देशक मेघराज गौतम, महिला उद्यमी नोसन आचार्य, अधिवक्ता श्रद्धा सुमन आचार्य तथा वन कार्यालयका अधिकृत अमजद अली अन्सारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्यसैगरी, डिभिजन वन कार्यालयका वन अधिकृत मरिचकुमार लामाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आगामी कार्यक्रम तथा योजना तय गर्ने सामुदायिक रेडियो परासीका स्टेसन म्यानेजर विकास अधिकारीले जानकारी दिनुभयो ।