पश्चिम नवलपरासीको सरावल गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण र संरक्षणलाई विशेष प्राथमिकता दिएको छ। गाउँ सभाकाे १८ अेाे अधिबेशनमा उनीहरुकाे सशक्तिकरण र संरक्षणलाई विशेष प्राथमिकता राखिएकाे बताइएकाे छ ।
गाउँपालिकाले महिलाको आर्थिक सशक्तिकरण, सीप विकास र स्वरोजगार प्रवद्र्धन गर्न सफल महिला उद्यमीलाई सम्मान गर्ने नीति लिएको छ। अपाङ्गता भएका व्यक्ति, उनीहरूका परिवार र विपन्न वर्गलाई लक्षित गरी आयआर्जन तथा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
सामाजिक क्षेत्रमा घरेलु हिंसा, लैंगिक हिंसा, बालश्रम र बालविवाह न्यूनीकरणका लागि पुरुषहरूको सक्रिय सहभागिता बढाउने र समुदाय स्तरमा सचेतना अभियान सञ्चालन गर्ने योजना अघि सारिएको छ। विद्यालय तहमा इन्टरनेटको सही प्रयोग तथा साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिनेछ।
‘एक वडा, एक नमुना बाल उद्यान’ निर्माण गरी बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने नीति लिइएको छ। साथै गाउँपालिका र सार्वजनिक संरचनाहरूलाई बालमैत्री तथा अपाङ्गमैत्री बनाइने जनाइएको छ। नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको नेतृत्वदायी सहभागिता बढाउने लक्ष्य पनि तय गरिएको छ।
ज्येष्ठ नागरिकका लागि नियमित निःशुल्क स्वास्थ्य शिविर, अशक्तहरूलाई घरदैलो सेवा तथा ज्ञान पुस्तान्तरण कार्यक्रम सञ्चालन गरिनेछ। दिवा सेवा केन्द्र स्थापना गर्ने र अपाङ्गता परिचयपत्र तथा सहायक सामग्री वितरणलाई थप सहज बनाउने योजना पनि कार्यक्रममा समावेश छ।
बालविवाह रोकथाममा योगदान दिने अभिभावक, गाउँ र बाल क्लबलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको छ। प्रत्येक वडामा महिनामा एक पटक कानूनी सचेतना तथा मनोसामाजिक परामर्श शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आफ्नो बालमैत्री अभियानलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । गाउँपालिकाले आगामी असार ५ गते आगामी आर्थिक २०८३।०८४ को बजेट ल्याउने तयारी गरिरहेको जनाएको छ ।