नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले मंगलबार वडा नं. ७ भुजहवामा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिकहरूले निःशुल्क शिक्षा, सिंचाइ सुविधा, मलखाद र बीउको समयमै उपलब्धता, डुवान समस्या, खानेपानी, सरसफाइ तथा उखुको अनुदान भुक्तानीजस्ता विषय उठाएका छन् ।
किसानहरूले आवश्यक कृषि सामग्री समयमै उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। कार्यक्रममा उठेका सवालहरूको जवाफ अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवालाले दिएका थिए।
प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले चालु आर्थिक वर्षको ९ महिनामा ९२.१८ प्रतिशत (करिब १ करोड ३१ लाख) राजस्व संकलन भएको जानकारी दिनुभयो । साथै १४९ योजनामध्ये ३२ सम्पन्न, ५० कार्यान्वयनमा र ६७ योजना अझै सुरु नभएको उल्लेख गर्नु भयो ।
गाउँपालिकाको प्रशासनिक भवन ४० प्रतिशत सम्पन्न, १५ शैया अस्पताल ठेक्का प्रक्रियामा रहेको, ३ वटा स्वास्थ्य चौकी निर्माण सम्पन्न र २० नयाँ लघुउद्यमी सिर्जना भएको पनि जानकारी दिनुभयो । गएको ९ महिनामा ७०३ वटा घटना दर्ता भएको उल्लेख गरिएको छ।
सार्वजनिक सुनुवाई सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका प्रवन्ध निर्देशक मेघराज गौतमले सहजीकरण गर्नु भएको थियो भने आगामी कार्यक्रमहरू अन्य वडालाई लक्षित गरी गरिने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरी(भिडियो सहित)