परासी । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधवार प्रेस चौतारी नेपाल नवलपरासी शाखाले जिल्लाका तीन जना सञ्चार श्रमिकहरूलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा सामुदायिक रेडियो परासी र परासी पत्र साप्ताहिकका श्रमिकहरू रहेका छन् ।
जिल्लाकै पहिलो सामुदायिक रेडियो परासीमा प्राविधिकको रूपमा कार्यरत रेडियो प्राविधिक रुपेश राजभर, परासी पत्र साप्ताहिकका डिजाइनर हिमाल आले र पत्रिका कै वितरक अमरराज कहाँरलाई सम्मान गरिएको हो ।
प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष गौरीशंकर जैसवालको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौतीप्रसाद यादव रुदलको प्रमुख आतिथ्यमा सञ्चार श्रमिकलाई सम्मान गरिएको हो । सो अवसरमा बोल्दै जिल्ला समन्वय प्रमुख यादवले आमसञ्चार माध्यमको विकासका लागि जिल्लाका सवै पालिकाहरूसँग समन्वय गर्ने बताउनु भएको छ । समन्वय प्रमुखले पत्रकारीता पेशा चुनौतिपूर्ण बन्दै गएकोमा जोड दिंदै पत्रकार साथीहरू आफ्नो पेशाबाट बिचलित हुन नहुने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव धिरज शर्मा बस्यालले पत्रकारीता क्षेत्रको विकासका लागि राज्यले सहजिकरण गर्नु पर्ने आवश्यकता औल्याउनु भएको छ । बर्दघाट नगरपालिकाका निवर्तमान नगरप्रमुख समेत रहनु भएका बस्यालले नवलपरासीका सवै स्थानीय सरकारहरूलाई मिडियाको विकास र पत्रकारीता क्षेत्रको प्रवद्र्धन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोगका सदस्य मोहन पौडेल, लुम्बिनी प्रदेश सदस्य यमकुमारी सुवेदी, नेपाल पत्रकार महासंघ, नवलपरासी शाखाका अध्यक्ष केशव पराजुली, महासंघका निवर्तमान अध्यक्ष हरि शर्मा, चौतारीका जिल्ला उपाध्यक्ष सुरेश यादव लगायतले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको जिल्ला कोषाध्यक्ष महेश यादवले जानकारी दिनुभयो ।

