परासी । पछिल्लो समय महिलाहरुले विभिन्न सामाजिक तथा राजनीतिक फोरमहरूमा आफ्नो नेतृत्वलाई अगाडि बढाउँदै आएका छन्। समाजका विभिन्न सामाजिक गतिविधि सँगसँगै आर्थिक कारोबार गर्ने वित्तीय क्षेत्रमा पनि महिलाहरूको नेतृत्व विकास हुँदै आइरहेको छ । महिलाहरूले बोल्ने कलाका साथै सार्वजनिक मञ्चहरूमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ नवलपरासीका विभिन्न पालिकाहरूमा नेतृत्व तथा उद्घोषण कला तालिम लिइरहेका हुन् ।
यसै क्रममा मङ्गलबार सरावल गाउँपालिका वडा नम्बर १ मा ३ दिने उद्घोषण कला तालिम सुरु भएको छ। वडा महिला सञ्जालको संयोजन र वडा नम्बर १ को आयोजनामा तालिम सुरु गरिएको हो।
वडा महिला सञ्जालकी अध्यक्ष मिना पाण्डेको अध्यक्षता र सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ।
सो अवसरमा बोल्दै अध्यक्ष चौधरीले महिलाहरूको नेतृत्व र सीप विकासका लागि तीन दिने उद्घोषण कला तालिम महत्वपूर्ण हुने बताउनुभयो । उहाँले महिलाहरू सहभागी भई सिकेको सिपले आगामी दिनमा समाजका विभिन्न क्षेत्रमा काम लाग्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराई, ओमकारेश्वर आमा समूहकी अध्यक्ष भीमा न्यौपाने, सरावल गाउँपालिका स्तरीय महिला सञ्जालकी सहसचिव सीता खरेल, वडा सदस्य शान्ति हरिजन लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडा महिला सञ्जालका ३५ जना अगुवा महिलाहरूको सहभागिता रहेको तालिमको सहजीकरण सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक मेघराज गौतमले गर्नुभएको छ।
तालिममा उद्घोषण, उद्घोषण गर्नु पूर्वको तयारी, संचार सीप, कार्यक्रम निर्माण तथा प्रस्तुतिकरण सम्बन्धी विषय राखिएको कार्यक्रम संयोजक सञ्जय मौर्यले जानकारी दिनुभयो।