
परासी। लुम्बिनी प्रदेशका दुई प्रादेशिक अस्पतालसहित १४ वटा अस्पतालको विकास समितिमा नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच भागबण्डा भएको छ। कांग्रेस एमालेले सात-सात अस्पताल विकास समितिको अध्यक्ष आपसमा बाँडफाँड गरेका छन्।
१४ वटै अस्पतालमा पुरुष अध्यक्षका लागि चयन हुँदा एकजना पनि महिलाले अवसर पाएका छैनन्।
नवलपरासी पश्चिम पृथ्वीचन्द्र अस्पतालमा नेकपा एमालेका जगदीश चौधरी, प्युठान अस्पतालमा नेपाली काङ्ग्रेसका कृष्णप्रसाद बसेल, रोल्पा अस्पतालमा काङ्ग्रेसका शेरबहादुर थापा, रामपुर अस्पताल पाल्पामा एमालेका युवराज खनाल, पाल्पाकै पाल्पा अस्पतालमा काङ्ग्रेसका अजयमान कर्मचार्य, भालुवाङ अस्पताल दाङमा एमालेका सूर्यप्रसाद शर्मा, रुकुम पूर्व अस्पतालमा काङ्ग्रेसका लोकेन्द्र शाह, गुल्मी अस्पतालमा एमालेका राजेन्द्रप्रसाद पाण्डे, अर्घाखाँची अस्पतालमा एमालेका बलाराम मिश्र, कपिलवस्तु अस्पतालमा एमालेका रन्जीकुमार वर्मा र भीम अस्पताल भैरहवामा कांग्रेसका कुलप्रसाद न्यौपानेलाई अध्यक्ष बनाइएको छ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नेकपा एमालेका अजयमान श्रेष्ठ र दाङको तुल्सीपुरस्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नेपाली काङ्ग्रेसका महेन्द्र लामिछाने नियुक्त हुनुभएको छ।
लुम्बिनी प्रदेश मन्त्रीस्तरीय बैठकबाट भागबण्डाका आधारमा १४ वटा अस्पताल विकास समिति अध्यक्ष नियुक्त गरिएकोमा सत्ता पक्षकै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले भने असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले एमाले-कांग्रेसले आफूहरूसँग कुनै सल्लाह नै नगरी निर्णय गरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन्।
१४ अस्पतालका अध्यक्षहरूलाई नियुक्तिपत्र दिने तयारी भइरहेको प्रदेशकाे स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।