लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यही मङ्सिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको छ। अभियानलाई प्रभावकारी बनाउन पाल्हीनन्दन गाउँपालिकामा बहुसरोकारवाला संघसंस्थाहरूको संयुक्त बैठक सम्पन्न भएको छ।
गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सुमनकुमारी गुप्ताको अध्यक्षतामा भएको बैठकमा अभियानअन्तर्गत सञ्चालन गरिने कार्यक्रम तथा गतिविधिका विषयमा छलफल गरिएको हो।
१६ दिने अभियानका क्रममा समुदायस्तरमा अभिमुखीकरण तथा अन्तरक्रिया, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, मानव बेचबिखनविरुद्ध सचेतना, मर्यादित महिनावारी, अपाङ्गता तथा एचआईभी एड्ससम्बन्धी दिवस विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। त्यसैगरी सञ्चारमाध्यममार्फत सचेतनामूलक सन्देश प्रवाहलगायतका विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
लैङ्गिक हिंसाका विभिन्न स्वरूप, यसले पार्ने असर तथा कानुनी व्यवस्थाबारे समुदायमा व्यापक जनचेतना अभिवृद्धि गर्नु अभियानको मुख्य उद्देश्य रहेको कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुकी नवलपरासी जिल्ला संयोजक तिलु श्रेष्ठले बताउनुभयो।
त्यस्तै, हिंसा प्रभावित व्यक्तिको न्याय, संरक्षण तथा आवश्यक सेवामा पहुँच सुनिश्चित गर्न ग्रामीण तहसम्मै हिंसाविरुद्धको अभियान सञ्चालन गरिने असल छिमेकी नेपालका पुरन सोतीले बताउनुभयो।
पाल्हीनन्दन गाउँपालिकामा लामो समयदेखि लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम सञ्चालन गर्दै आएको सुनवल सामुदायिक विकास केन्द्रकी संयोजक राधा सापकोटाले समुदायमा हिंसाविरुद्धको सचेतना विस्तार हुँदै गएको बताउनुभयो।