परासी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन आज नवलपरासीसहित देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी अभियान शुभारम्भ गरिएको छ । नवलपरासी जिल्लाका सातवटै स्थानीय तहले सेतो रिबन धारण गर्नुका साथै विभिन्न कार्यक्रममार्फत हिंसाविरुद्धको अभियान सुरु गरेका हुन् ।
जिल्लाका रामग्राम, सुनवल र बर्दघाट नगरपालिकाले अभियान अवधिभर सञ्चालन गरिने कार्यक्रम सार्वजनिक गर्दै अभियानको शुभारम्भ गरेका छन् । यस्तै पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकाले पनि छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी अभियान सुरु गरेका छन् ।
यसैक्रममा रामग्राम नगरपालिकाले ‘हिंसाविरुद्धको अभियान’ विषयमा समूहगत छलफल तथा प्यानल डिस्कसन आयोजना गरेको छ । नगर उपप्रमुख सम्झना चौधरी, पृथ्वीचन्द्र अस्पताल परासीका मेडिकल सुपरिटेन्डेन्ट डा. बृज यादव, जिल्ला न्यायाधीश मनकुमारी जीएम विक र जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख रामबहादुर केसीको सहभागितामा प्यानल छलफल गरिएको हो । सञ्चारकर्मी मोहन पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा नगरपालिकाका १८ वटै वडाबाट अगुवा महिलाहरूको उपस्थिति रहेको थियो ।

यस्तै, पाल्हीनन्दन गाउँपालिकामा कार्यवाहक उपाध्यक्ष अनामिका हरिजनको अध्यक्षतामा अभियान शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाभित्र क्रियाशील विभिन्न संघसंस्थाहरूको साझा संगठन बहुसरोकारवाला फोरमको सहभागितामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर काम गर्ने सामूहिक प्रतिबद्धतामा सहभागीहरूले हस्ताक्षर गरेका छन् । सुनवल सामुदायिक विकास केन्द्रकी कार्यक्रम संयोजक राधा सापकोटा तिमिल्सिनाका अनुसार कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसी, महिला तथा बालबालिका शाखा प्रमुख सुमनकुमारी गुप्ता, मेलमिलापकर्ता मञ्जु चौधरी, सामुदायिक रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतम लगायतले हिंसामुक्त समाज निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यस्तै सुनवल नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन आज हिंसा विरुद्धको अभियानमा एक्यवद्धता जनाउने हस्ताक्षर गरिएको नगरपालिकाकी नगरप्रमुख विमला अर्याले बताउनु भयो ।

जिल्लाका अन्य स्थानीय तहहरूले पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै लैङ्गिक हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।