परासी । सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले सञ्चालन गरेको २६ औं राष्ट्रिय सरसफाई सप्ताह २०८२ को आइतबार पाँचौँ दिन नेपाल भारत सिमा नाकाको महेशपुर दशगजामा बृहत सरसफाई गरिएको छ । दैनिक जसो हजारौं व्यक्तिहरू आवत जावत गर्ने सिमानाका भएकोले पूर्ण सरसफाईको अभियान सञ्चालन गरिएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको अगुवाईमा सिमानाका पुगेको सरसफाई टोलीसँग भारतका एसएसबीका प्रहरी जवानको सामुहिक सहकार्यमा दशगजा क्षेत्रमा बृहत सरसफाई गरिएको हो ।
यसरी दुवैदेशका सुरक्षाकर्मी र नागरिकहरू मिलेर दशगजा क्षेत्र सरसफाई गरिएको यो पहिलो प्रयास हो । खुल्ला सिमानाका भएको क्षेत्रमा दुवैदेशका सुरक्षाकर्मीहरूको सक्रियतामा गरिएको सरसफाई कार्यक्रममा ३ टेक्टर टाली फोहर निस्काशन भएको हो । स्थानीय नागरिकहरूको व्यापक उपस्थितिमा पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ स्थित महेशपुरमा नागरिक एवं संघसंस्थाहरूलाई सरसफाई सम्बन्धी सचेतना पनि गरिएको छ ।
कार्यक्रम सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षता र पूर्व गृहराज्य मन्त्री कण्डेलको प्रमुख आतिथ्यतामा भएको हो । सो अवसरमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपक, रेडियोका सञ्चालक सदस्य उपेन्द्र गुप्ता र स्टेशन म्यानेजर विकास अधिकारी लगायतले खानेपानी र सरसफाईको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका, बहुसरोकारवाला फोरम, महेशपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, असल छिमेकी नेपाल, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सरसफाई सहित व्यापक जनचेतना पनि जगाइएको पाल्हीनन्दन गाउँपालिकाका वडाध्यक्ष चुल्हाइप्रसाद यादवले बताउनु भयो ।