सुनवल । जिल्ला हुलाक कार्यालय नवलपरासीले पहिलोपटक हुलाक सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाका विभिन्न सरोकारवाला निकायहरूको उपस्थितिमा हुलाक सेवाको प्रभावकारिताबारे जानकारी गराइएको हो।
हुलाक सेवा विभागका निर्देशक धुर्वराज आचार्यको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगवतीप्रसाद यादव रुदलको प्रमुख आतिथ्यमा सचेतनामूलक कार्यक्रम गरिएको हो।
कार्यक्रममा प्रमुख यादवले प्रविधिसँगै हुलाक सेवा ओझेलमा परेको बताउनुभयो उहाँले लामो इतिहास बोकेको हुलाक सेवालाई जनमैत्री र प्रविधि मैत्री बनाउँदै प्रयोगमा जोड दिन आग्रह गर्नुभयो।
कार्यक्रममा हुलाक सेवा विभागका निर्देशक आचार्य र जिल्ला हुलाक कार्यालय नवलपरासीका प्रमुख रमेश ज्ञवालीले हुलाक सेवा, विद्यमान अवस्था, हुलाकका सबल पक्षहरू उपलब्धि र यसको प्रयास तथा हुलाक सेवाबाट प्रवाह हुने सेवाहरूका बारेमा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष केशव पराजुली, भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष भोजराज बाराकोटी लगायतले हुलाक सेवालाई थप प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ।
विक्रम सम्वत १९३८ मा नेपालमा हुलाक घरको स्थापना भए पछाडि यसले सेवा प्रारम्भ गरेको हो। सन् १९७४ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच सुरु भएको हो।
देशभर ७० वटा जिल्ला हुला कार्यालय, आठ सय ४२ वटा इलाका हुला कार्यालय र अतिरिक्त हुलाक कार्यालय ३ हजार ७४ वटा रहेको जिल्ला हुला कार्यालय नवलपरासीका प्रमुख ज्ञवालीले जानकारी दिनुभयो।
हाल देशभर हुलाक सेवामा करिब १९ हजार कर्मचारी कार्यरत रहेका छन्।