सरावल । सरावल गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१।०८२ को अन्तिम चौमासिकको सार्वजनिक सुनुवाई शुक्रवार सरावलमा सम्पन्न गरेको छ । गाउँपालिकाले पालिका तथा वडा नं.३ र ४ स्तरीय सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
सरावलमा सम्पन्न सार्वजनिक सुनुवाईमा सेवाग्राही नागरिकहरूले दर्जनौ प्रश्नहरू उठाएका छन् । उनीहरूले शिक्षा, स्वास्थ्य, कृषि सडक, विद्युतिकरण, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर, खानेपानी र सरसफाइ तथा ढल निकास, सार्वजनिक जग्गा व्यवस्थापन जस्ता महत्वपूर्ण विषयहरू उठाएका थिए ।
कार्यक्रममा सेवाग्राहीले जनप्रतिनिधि र कर्मचारीहरूको भ्रमणको सन्दर्भमा निकै चासो व्यक्त गरेका छन् । कार्यक्रममा स्थानीय रामनाथ चौधरीले कर्मचारीहरू कसको बजेटले भ्रमणमा जान्छन् भन्दै प्रश्न गर्नुभयो । उहाँले भ्रमणमा जाँदा आपसी सरसल्लाह हुन्छ की हुँदैन भन्दै भ्रमणको उद्देश्य स्पष्ट गर्न आग्रह गर्नुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरीले नागरिकले गाउँपालिकाको विकासका सन्दर्भमा उठाएका दर्जनौ विषयहरूका आधारमा आगामी दिनमा योजना र बजेट ल्याउने प्रतिवद्धता व्यक्त गर्दै सेवाग्राहीले उठाएका प्रश्नको जवाफ दिनु भएको छ ।
कार्यक्रममा सेवा प्रवाहका विषयमा उठेका विषयहरूको सन्दर्भमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले जवाफ दिनु भएको छ । उहाँले चालु आ.ब.मा पालिकाबाट सम्पादन भएका कामहरूको जानकारी दिनुभयो । उहाँले कर्मचारीको भ्रमण, योजना छनौटको प्राथमिकता जस्ता विषयमा उठेका प्रश्नको जवाफ पनि दिनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजन, वडा नं. ३ का अध्यक्ष फिरङ्गिप्रसाद चौधरी, वडा नं. ४ का अध्यक्ष सुरेशप्रसाद यादव, कार्यपालिका सदस्य रामनिवास ठाकूर लगायतले उठेका विषयमा आफ्नो जवाफ दिनु भएको हो ।
यसअघि बैशाख २६ गते वडा नं. १ र २ लक्षित र गत जेष्ठ १७ गते वडा नं.५, ६ र ७ लाई लक्षित गरी सार्वजनिक सुनुवाई गरिएको थियो तीन वटै स्थानमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले गरेको प्रवन्ध निर्देशक मेघराज गौतमले जानकारी दिनुभयो ।