परासी । इन्द्रेणी सामाजिक विकास मञ्च द्वारा सञ्चालित एकीकृत ग्रामीण समुदाय स्वास्थ्य परियोजना (आईआरसियच) बहिर्गमनको अन्तिम चरणमा पुगेको छ।
गएको छ वर्षदेखि सञ्चालन भएको परियोजना अन्तिम चरणमा प्रवेश गरेको इन्द्रेणीका कार्यकारी निर्देशक पुष्पराज आचार्यले जानकारी दिनुभयो । निर्देशक आचार्यले २०७६ साउनदेखि आइआरसीच परियोजना नवलपरासीको पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा सञ्चालनमा रहेको थियो।
बुधबार पाल्हीनन्दनमा आयोजना गरिएको औपचारिक कार्यक्रमकाबीच परियोजना बाहिरिन लागेको बताइएको हो। एउटा परियोजना बाहिरिए पनि इन्द्रेणीका अन्य परियोजनाले पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा कार्य गरिरहने उहाँले जानकारी दिनुभयो ।
बुधबार आयोजित कार्यक्रममा परियोजनाले गएको ६ वर्षमा हासिल गरेका उपलब्धिहरूको समीक्षा गरिएको छ।
परियोजनाले महिला स्वास्थ्य स्वयंसेविकाहरू र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, स्वास्थ्य सामग्री सहयोग, दुईवटै गाउँपालिकामा गरी १० वटा गाउँघर क्लिनिक भवन निर्माण, दुईवटा स्वास्थ्य चौकीहरूमा अपाङ्गता मैत्री शौचालय निर्माण लगायतका दर्जनौं कामहरू गरेको छ ।
गएको ६ वर्षमा दुवै पालिकामा सञ्चालित परियोजना मार्फत इन्द्रेणीले ११ करोड ४१ लाख ६० हजार २ सय रकम खर्च गरेको बताइएको छ ।
पाल्हिनन्दनमा आयोजित कार्यक्रममा इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी प्रमुख आचार्यको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो।
सो अवसरमा गाउँ पालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी, ६ वटै वडाका वडा अध्यक्षहरू लगायतले बोल्दै परियोजनाले पालिकाका महिला तथा किशोरीहरूमा सकारात्मक परिवर्तन ल्याएको बताएका छन् ।
परियोजनाले बहिर्गमनका बेला जनप्रतिनिधि तथा सरोकारवाला निकायहरू र महिला समूह, किशोरी समूह र महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग छुट्टाछुट्टै समीक्षात्मक छलफल गरेको हो।