परासी । सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले खानेपानी र सरसफाई सम्बन्धी ११ औं बार्षिक बुलेटिन सार्वजनिक गरेको छ । २६ औं राष्ट्रिय सरसफाई सप्ताह २०८२ को अवसरमा गत जेष्ठ २२ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको सप्ताह ब्यापी कार्यक्रमलाई समेटेर बुलेटिन प्रकाशन गरिएको सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष राजकुमार रेश्मीले जानकारी दिनुभयो ।
गत जेष्ठ २२ देखि २८ सम्म गरिएको सरसफाई सप्ताहमा बृक्षारोपण, सिमानाका महेशपुरमा बृहत सरसफाई, सुनवल नगरपालिका स्तरीय चित्रकला प्रतियोगिता, विद्यालयहरूमा सरसफाईको महत्व विषयक सचेतना, रेडियो बहस, खानेपानी र सरसफाई सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको रेडियोका प्रवन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो ।
रेडियोले २०७२ सालदेखि खानेपानी र सरसफाई सम्बन्धी बार्षिक बुलटिन प्रकाशन गर्दै आइरहेको छ । नवलपरासी जिल्ला खुला दिसा मुक्त क्षेत्र घोषणा भएसँग बुलेटिन प्रकाशन मा ल्याइएको हो ।
बुलेटिन बिमोचन रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले गर्नु भएको हो । “खानेपानी र सरसफाईमा हाम्रो प्रतिवद्धता” नामक बुलेटिनमा नवलपरासी जिल्लामा सरसफाई सप्ताहमा भए गरेका गतिविधि, विज्ञका लेख रचना, विभिन्न उपभोक्ता संस्थाको परिचय र वन वातावरणको संरक्षणमा ध्यान दिनु पर्ने कुराहरू र शून्य फोहर अभियान बारे जानकारी लगायतका सामाग्री समेटिएको छ ।
कार्यक्रममा सरसफाई सप्ताहको अवसरमा गरिएको चित्रकला प्रतियोगिताका विजयी प्रतियोगीहरूलाई पुरस्कृत गरिएको छ। सुनवल नगरपालिकाभित्र सञ्चालन भएको चित्रकला प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयका मोनु कहार प्रथम, रमवापुर माध्यमिक विद्यालयकि आशिका काफ्ले द्वितीय, रामनगर एकेडेमी कि कृसा भण्डारी तृतीय र देवकोटा माध्यमिक विद्यालय सुनोवल कि प्राज्ञि क्षेत्री शान्तवना हुन सफल हुनुभएको हो।