परासी । बालमैत्री स्थानीय शासन अभियान सुरु भएको ११ वर्षपछि सरावल गाउँपालिका वडा नम्बर २ औपचारिक रुपमा शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ। वडा नम्बर २ साविक मनरी गाउँ विकास समिति हुँदादेखि नै बालमैत्री अभियान सुरु गरिएको थियो।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेका ५१ वटा सूचक पुरा गरेको आधारमा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो।
जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगवती यादव रुदलले एक औपचारिक कार्यक्रमका बीच वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको छ ।
गाउँपालिकाले २०८३ सालसम्म बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य लिइएको अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताउनुभयो ।
सो अवसरमा गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजन, पूर्व उपाध्यक्ष उत्तमा राय, वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष तुफानीलाल गुप्ता, शिक्षा समन्वय इकाइका अधिकृत सुभाषचन्द्र गौतम, बाल सन्जाल समूहकी अध्यक्ष अन्जली गुप्ता, पत्रकार उमेश बिक, स्थानीय रुदल हरिजन लगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।
बालमैत्री अभियानकी राष्ट्रिय सहजकर्ता शर्मिला पौडेलले घोषणासँगै दिगोपनाका लागि निरन्तर कार्य गर्नुपर्ने बताउनुभयो।
यसअघि नवलपरासीका सुनवल नगरपालिका र रामग्राम नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् भने जिल्लाका अन्य पालिकाहरूले अभियानलाई तीव्रता दिइरहेका छन्।