परासी । रामग्राम नगरपालिकामा मेयर छात्रवृत्ति कार्यक्रम लागू भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सन र रामग्राम नगरपालिका बीच भएको सम्झौता अनुसार मेयर छात्रवृत्ति कार्यक्रम लागू भएको हो। सम्झौता अनुसार २५० जना बालबालिकाहरूलाई कक्षा ४ देखि ११ कक्षासम्म छात्रवृत्तिमा निःशुल्क पढाइने भएको छ।
रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको पहलमा र संस्थागत विद्यालयहरूको योगदानको आधारमा मेयर छात्रवृत्ति कार्यक्रम लागू भएको हो। नगर प्रमुख धनपत यादवले सामाजिक उत्तरदायित्व निर्वाह गर्न संस्थागत विद्यालयहरूले स्वीकार गर्नुभएकोले छात्रवृत्ति सहितको अध्यापन कार्य सफल हुने बताउनुभयो ।
संस्थागत विद्यालयहरूले एक वर्षमा २५० बालबालिकाहरूलाई निःशुल्क अध्यापन गराउँदा करिब एक करोड बराबरको शुल्क निःशुल्क हुने भएको हो। प्याप्सनका प्रतिनिधिहरूले नगरपालिकाको पहलमा २५० विद्यार्थीहरूलाई निःशुल्क पढाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् भने सामुदायिक विद्यालयको शैक्षिक सुधारमा पालिकाले विशेष ध्यान दिन आग्रह गरेका छन्। रामग्राम प्याप्सनका अध्यक्ष बलिराम यादवले रामग्राम नगरपालिकाले थालेको शैक्षिक सुधारको अभियानमा आफूहरूको सधैँ सहकार्य हुने बताउनुभएको छ ।
नगरभित्रका २३ वटा संस्थागत विद्यालयहरूमा नगरपालिकाले छनोट गरेका २५० बालबालिकाहरूले निःशुल्क रुपमा पढ्न पाउने भएका छन् ।
रामग्राम नगरपालिकाले विभिन्न मापदण्ड बनाएर निःशुल्क रुपमा अध्यापन गराउन विद्यार्थीहरू छनोट गरेको हो ।
नगरपालिकाले गरिब, विपन्न, जेहनदार, सीमान्तकृत समुदायका बालबालिका र सहिद परिवारका छोराछोरीहरुले कक्षा ४ देखि ११ सम्म निःशुल्क पढ्न पाउने जनाएको छ ।
गरिब तथा विपन्न परिवारका अभिभावकहरूले रामग्राम नगरपालिकाले मेयर छात्रवृत्ति कार्यक्रम लागू गरेर सुरु गरिएको निःशुल्क शिक्षाले आफूहरुलाई निकै खुसी तुल्याएको प्रतिक्रिया दिएका छन्। उनीहरूले निरन्तर र नियमित निःशुल्क शिक्षालाई अघि बढाउन विद्यालय र नगरपालिकालाई आग्रह समेत गरेका छन्।