नेकपा एमाले नवलपरासी जिल्ला कमिटीले आज परासीमा संविधान दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारीको अध्यक्षता र केन्द्रीय सदस्य सरिता भुसाल खनालको प्रमुख आतिथ्यमा संविधान दिवस कार्यक्रम मनाइएको हो ।
सो अवसरमा बोल्दै केन्द्रीय सदस्य भुसालले जेनजी युवा पुस्ताको आन्दोलनले देशका राजनीतिक दलहरूलाई नयाँ दिशा निर्देश गरेको बताउनुभएको छ । अन्तरिम सरकारले फाल्गुन २१ गते चुनावको घोषणा गरेकोले अब सिङ्गो पार्टी चुनाव केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य खनालले नेकपा एमालेलाई लक्षित गरेर जेन्जीको आन्दोलनलाई हिंसात्मक बनाउने काम भएको बताउनु भयो । उहाँले जेनजीको नाममा विभिन्न हिंसात्मक गतिविधि गरी सार्वजनिक सम्पत्तीको तोडफोड, आगजनी भएकोमा दुख व्यक्त गर्दै सहिदहरु प्रति श्रद्धान्जली र घाइतेहरुको शीर्घ स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष अधिकारीले नेपालको प्रगति उन्नति देख्न नचाहने तत्वले देशलाई माओवादी जनयुद्ध भन्दा पनि अझै तहस नहस पारेको बताउनुभयो । अध्यक्ष अधिकारीले वर्तमान परिस्थितिमा संगठनका कार्यकर्ताहरूलाई एकताबद्ध भएर संगठनमा क्रियाशील हुन आग्रह गर्नुभएको छ ।
पार्टीका केन्द्रीय स्कुल विभाग सदस्य बद्रीनाथ खनालले वर्तमान बदलिदो परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलको अडानले संविधान जोगिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल बार एशोसियसन नवलपरासीका जिल्ला अध्यक्ष अधिवक्ता रामकृष्ण पौडेलले नेपालको संविधानका विशेषता र संविधानमा उल्लेखित मौलिक हक एवं कर्तव्यका बारेमा कार्यपत्र प्रस्तुतिकरण गर्नु भएको थियो ।
कार्यक्रममा केन्द्रीय परिषद् सल्लाहकार खिमलाल पोख्रेल, पूर्व राष्ट्रिय सभा सदस्य रामलखन हरिजन, लुम्बिनी प्रदेश कमिटी सदस्य फूलकुमारी गिरी, जिल्ला कमिटीका उपसचिव रिङ्गला यादव लगायतले बोल्नु भएको कार्यालय सचिव रामचन्द्र भण्डारीले नेपाली चेली अनलाईनलाई जानकारी दिनुभयो ।
