परासी । पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ स्थित परसिया कृषि बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेशकुमार गुप्ताको अध्यक्षता र पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा अध्यक्ष गुप्ताले सहकारीले कृषी उद्यमलाई प्राथमिकता दिन आग्रह गर्नु भयो । उहाँले पाल्हीनन्दन गाउँपालिका कृषिको पकेट क्षेत्र भएकोले कृषि उत्पादनमा लगानी केन्द्रीत गर्न सहकारीलाई सुझाव दिनुभएको हो ।
साधारण सभामा कोषाध्यक्ष द्धारिकाप्रसाद गुप्तले लेखा प्रतिवेदन, लेखा समितिका संयोजक गौरीशंकर गुप्ताले लेखासमितिको प्रतिवदेन र सचिव ब्रम्हाप्रसाद गुप्ताले साँगठानीक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । १८ औं बार्षिक साधारण सभाले सभामा प्रस्तुत भएका सवै प्रतिवेदनहरु सर्वसम्मत पास गरेको छ ।
संस्थाले गत आर्थिक बर्ष २०८१।०८२ मा ६९ लाख ६८ हजार ६८७ रुपैया आम्दानी र ५९ लाख ५० हजार ५७४ खर्च गरी कुल १० लाख १८ हजार ११३ रुपैया नाफा आर्जन गर्न सफल भएको संस्थाद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
३ सय ५८ जना शेयर सदस्य र २६ लाख शेयर पूँजी भएको सहकारीले आगामी दिनमा कृषि पेशामा आवद्ध शेयर सदस्यहरुको व्यवसायीक काममा लगानी गर्ने, सहकारी शिक्षा तालिम संचालन गर्ने, शेयर सदस्यहरु बृद्धि गर्दै सहकारी पूँजी बृद्धिमा जोड दिने जस्ता निर्णय गरेको छ । भने चालु आर्थिक बर्ष २०८२।०८३ मा १० लाख बढी मुनाफा गर्ने योजना राखिएको छ ।
१८ औ बार्षिक साधारण सभाको समुदघाटन समारोहमा पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ का अध्यक्ष गोधनप्रसाद हरिजन, जिल्ला सहकारी संघ लि.का कोषाध्यक्ष हैदरअलि मोमिन, सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका प्रवन्ध निर्देशक मेघराज गौतम, संस्थाका सल्लाहाकार बल्लभाचार्य गिरी, संचालक सदस्य सुरेन्द्रकुमार पटेल, कुश्मा वहुमुखी सहकारी संस्थाका उपाध्यक्ष बाल गोविन्द गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको हो ।