चेली सम्वाददाता, सुनवल । नवलपरासीको सुनवल नगरपालिका वडा नं ६ स्थित विशासय सामुदायिक वन उपभोक्ता समुहको १९ औ वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
समुहका अध्यक्ष गंगाप्रसाद घिमिरेको अध्यक्षता एवम डिभिजन वन कार्यालय नवलपरासीका सिनियर डिभिजन वन अधिकृत राजु के.सी.को प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा वन अधिकृत केसीले आगामी दिनमा वन कार्यालयले सामुदायिक वनसँग अझ नजिक भएर काम गर्ने, रोजगारी सिर्जना गर्ने र वन अतिक्रमण रोक्न सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले प्रति हेक्टर ९०० का दरले प्राप्त हुने कार्बन उत्सर्जन रकम सामुदायिक वनहरूले विभिन्न कार्यक्रम सञ्चालनमा उपयोग गर्न सक्ने जानकारी पनि दिनुभयो ।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष हिमलाल शर्मा चापागाई, वडा नम्बर १ का वडाध्यक्ष मनबहादुर थापा मगर, सामुदायिक वन उपभोक्ता महासङ्घ केन्द्रीय सदस्य टिचन गुरुङ, सब डिभिजन वन कार्यालयका सिनियर वन अधिकृत मरिचकुमार लामा, सामुदायिक वन जिल्ला महासङ्घका अध्यक्ष शारदा पोखरेल, कार्यपालिका सदस्य सीता तिमिल्सिना, जनसेवा माविका अध्यक्ष लेखनाथ न्यौपाने, महलपोखरी सामुदायिक वनभोक्ता समूहका अध्यक्ष छन्नुप्रसाद श्रेष्ठ, संस्थापक अध्यक्ष रुद्रनाथ लामिछाने र उपाध्यक्ष टेकप्रसाद न्यौपानेले शुभकामना व्यक्त गर्नु भएको छ ।
साधारण सभामा समूहका अध्यक्ष घिमिरेले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सिता कुंवरले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले आर्थिक वर्ष ०८१÷०८२ मा ८ लाख ५ हजार १ सय १ नाफा आर्जन गर्न सफल भएको समितिकी सचिव रुपा पाठकले नेपाली चेली अनलाईनलाई जानकारी दिनुभयो ।
सामुदायिक वन वि.स.२०५४ सालमा स्थापना भएको हो भने वनको कुल क्षेत्रफल ६१४.२९ हेक्टर रहेको बताइएको छ । सामुदायिक वनको कार्यक्षेत्र सुनवल नगरपालिका १, ४ र ६, रामग्राम नगरपालिका १, २ र ३ तथा पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ हो । संस्थामा उपभोक्ता घरधुरी संख्या १ हजार ४ सय ५४ रहेको र लाभान्वित जनसंख्या ७ हजार ४ सय ७७ रहेको जनाएको छ ।