नेपाली समाजमा चैत्र २० लाई सहकारीता र सहअस्तित्वको दिनको रुपमा लिने गरिएको छ । सहकारीमा साँगठानीक रुपमा पहिचान बनाएकालाई त झन चैत्र २० एउटा उत्सव नै हो । किनकी सहकारीमा रहेको हरेक व्यक्तिले आफूलाई स्वावलम्बीपनको आभाष गर्ने, सामाजिक, आर्थिक र साँस्कृतिक एकता र विकासको अवसर लिने गर्दछन् ।
चितवनमा २०१३ साल चैत्र २० गते बखान सहकारीको स्थापना भएसँगै नेपालमा त्यही दिनको संझनामा दिवस मनाउन थालेको ६९ बर्ष पुग्यो । नेपालमा वि.सं. २०१३ साल अघि विभिन्न व्यक्ति, छरछिमेकी, असंगठीत समुहहरु बीच भावनात्मक सम्बन्ध हुँदै सहकारीताको भावना विकास भएको पाइन्छ । असंगठीत रुपमै भएपनि सहकारीताको भावना अनुसार एक आपसमा मिलेर बस्ने, सीप, ज्ञान र सृजना साटासाट गर्ने, मिलेर काम गर्ने परंपरागत मान्यताहरु थिए ।
बिचार मिल्ने, एक आपसमा मिलेर बस्ने, मिलेर काम गर्ने, बाँडिचुँडि खाने, परंपरागत सीपको प्रयोग गरी जिविकोपार्जन गर्ने संगठीत नभएको बेला पनि सहकारीता प्रस्टैसँग देख्न सकिन्थ्यो । परंपरागत रुपमा गरीव, किसान, मजदुर, कालिगढ, उपभोक्ता, श्रमिकहरुको संगठीत सहकारी थिएन । उहिले गाउँहोस् वा शहर गूठी, पर्म, मेला, धर्म भकारी र ढिकुरी जस्ता अनौपचारीक तर विश्वसनीय प्रचलनहरु मान्यताको रुपमा स्थापित थिए ।
सामाजिक उत्पिडन, बिचौलियाको चङ्गुलबाट छुटकारा पाउनु र व्यक्तिले आफ्नो सीप र जाँगरले व्यवसायीक जीवनको थालनी गर्नु नै सहकारीता हो । सहकारी सामूहिक भावना, प्रयास र सहकार्यबाट शुरु हुन्छ । स्वावलम्बन र बलियो इच्छाशक्ति भएका, सकारात्मक कार्यशैली र भावना भएका व्यक्तिहरुको सामुहिक प्रयास नै सहकारी हो । जसले एक अर्कालाई विश्वास गर्छ, र सुखदुखमा साथ दिन्छ, एक अर्काको हितरक्षाका लागि मरिमेट्छ त्यो नै वास्तविक सहकारीता हो ।
सहकारी आर्थिक एवं व्यवसायीक संगठन भएकाले सहकारी संस्थाको माध्यमवाट विभिन्न सीपमूलक र रोजगारमूलक तालिमहरु सञ्चालन गर्न सकिन्छ । सहकारीले सदस्य केन्द्रीत सहज लगानी गर्ने, नयाँ नयाँ कार्यको थालनी गर्ने र आफ्ना सदस्यहरुलाई कामकाजी बनाउँदै, उत्पादनमूलक कार्यकालागि उत्प्रेरित गर्दै उनीहरूको जीवनस्तर उठाउन मद्दत गर्नु पर्दछ ।
“मर्यादित सहकारी, समुन्नत समाज” नाराले सहकारी स्वनियमन र सुशासनमा चल्ने व्यवस्थित, संगठीत र सुशासित सामुदायिक संगठनको प्रतिनिधित्व गर्दछ । सहकारीका सिद्धान्त, मूल्य र मान्यताले सहकारीहरुलाई सुशासित र संगठीत बनाएको हुन्छ । सहकारी संस्थाहरू स्वायत्त र स्वतन्त्र पनि हुन्छन् तर संस्थाहरूले सहकारी ऐन, नियमहरूलाई पूर्णतया पालना गर्दछन् ।
पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गरी त्यसको दिगो समाधान निकाल्ने र सहकारीलाई व्यवस्थित, नीति, विधि र उच्च प्रविधिको प्रयोग गरी सञ्चालन गर्नुपर्नेमा जोड दिनु पर्ने देखिन्छ । मर्यादित सहकारी बनाउन सहकारीहरुले पारदर्शिता, सदस्यकेन्द्रित कारोबार, कानूनको सही परिपालना, सामूहिक हितलाई प्राथमिकता दिंदै सामाजिक उत्तरदायित्व पूरा गर्न सक्नु पर्दछ ।
सहकारी समाजको एक महत्वपूर्ण आर्थिक कारोबार गर्ने संगठीत संस्था भएकोले सहकारी क्षेत्रको विकासले मात्र समाजको समुन्नत विकास सम्भव छ । समाजको आर्थिक, सामाजिक, साँस्कृतिक र नैतिक रुपमा सभ्य, उन्नत र समृद्ध समाज नै समुन्नत समाज भएकोले सहकारी मार्फत समुन्नत समाजको परिकल्पना गरिएको हो ।
सहकारी अवधारणा अनुसार सदस्यहरुको सानोसानो पूँजीलाई एकत्रित गरी ठूलो र भकारी भर्ने उद्देश्य बनाइएको छ । सहकारीमा एकका लागि सवै र सवैका लागि एक भन्ने भावना हुन्छ । सहकारीलाई “मौरीको जस्तो काम, कमिलाको जस्तो ताँती” एकता र सहकार्यको उदाहरण पनि दिने गरिएको छ । यिनै भावना र ७ दशकको लामो सहकारी अभियानले नेपालमा लाखौ मानिसलाई सहकारीमा आवद्ध बनाएको छ ।
सहकारी क्षेत्र देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको एक महत्वपूर्ण मेरुदण्ड हो । सहकारीलाई यसका विभिन्न सिद्धान्त, मूल्य र मान्यताहरूले मार्गनिर्देश गरेको छ । सहकारीका ७ सिद्धान्त र मूल्य मान्यता अनुसार सहकारीहरूले सदस्य र समूदायको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा सहयोग पुर्याउँदै आएका छन् । त्यति मात्र होइन समूदायमा सहकारी मार्फत उत्पादन, प्रशोधन र बजारीकरण जस्ता कार्यहरू सञ्चालन गरी स्वरोजगारीको सिर्जना गर्दै सदस्यहरूको आम्दानीमा वृद्धि र गरिवी निवारणमा समेत महत्वपूर्ण योगदान रहेको छ ।
सहकारीले संस्था मार्फत महिला सशक्तिकरण, सामुदायिक विकास, सामुदायिक जागरण एवं सचेतना, सामाजिक उत्तरदायित्व बोध, सुशासन जस्ता कार्यहरूमा समेत योगदान पुर्याइरहेका छन् । यी सबै कारणहरूले गर्दा नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहकारी प्रतिको आस्था, विश्वास र जिम्मेवारी अझै बढेर गएको पाइन्छ । नेपालमा सहकारीलाई आर्थिक विकास वा भनौ अर्थतन्त्रको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा हेरिंदै पनि आइएको छ । व्यक्तिव्यक्ति बीचको सम्बन्ध र सहकार्यबाट सृजित पूँजीको परिचालन सहकारी मार्फत सदस्यहरूको आर्थिक विकासका खातिर हुने गरेको छ । यस प्रकारको कार्यले समग्र समाजको समुन्नतीलाई मार्ग प्रसस्त गरेको बुझ्न सकिन्छ ।
हामीले सहकारीमार्फत सदस्यहरूको आर्थिक सम्बृद्धिको कुरा गरिरहँदा संस्थामा संचित पूँजीको परिचालन कहाँ, कसरी र के के मा भईरहेको छ भन्ने कुरा विश्लेषण गर्नु पर्दछ । आज सहकारीमा पूँजीको कमी छैन तर पूँजी परिचालन उत्पादनशील क्षेत्रमा हुन नसक्दा त्यसले जुन रुपमा सदस्य र समूदायको विकास हुनु पर्दथ्यो त्यो हुन सकेको छैन । त्यसैले सहकारीमार्फत हामीले समुन्नत समाजको परिकल्पना गर्ने हो भने सहकारीको संरचनागत त्रुटिलाई सच्चाएर एकीकृत मोडलमा जानु जरुरी छ । आज थुप्रै सहकारी भन्दा पनि मर्यादित र सक्षम सहकारीको खाँचो छ, जहाँबाट सदस्यहरुले मनग्य लाभ लिन सकुन । राज्यले प्रत्येक बर्ष दिने नयाँ नाराले मात्र सहकारीहरूमा खोजेको जस्तो परिवर्तन आउन सक्दैन तसर्थ दिगोपन आउने गरी सहकारी भित्रको संरचनागत परिवर्तन, सुशासन, नीति, विधि र उच्च प्रविधीको अवलम्बन गरी सहकारी संस्थाहरूलाई अगाडि बढाउनु पर्ने देखिन्छ ।
अहिले सहकारीहरुलाई राज्यका तीन तहका सरकार मातहतमा राखिएको छ । कार्यक्षेत्रको आधारमा तीन तहमा बर्गिकरण गरेपनि यसको ठीक परिचालन हुन नसकेको देखिन्छ । नेपालमा विगतका केही बर्षदेखि सहकारीको रकम दुरुपयोग गर्ने प्रचलन वढेकाले पनि त्यस तर्फ राज्य र सरोकारवाला निकायहरु जिम्मेवार बन्नु पर्ने देखिन्छ ।
सहकारी क्षेत्र मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको सत्यतालाई स्वीकार गरी व्यवहारमा नै परिवर्तन आउने गरी काम गर्नु पर्ने आजको आवश्यकता हो । समाजमा सहकारीलाई आर्थिक सम्बृद्धिको भरोषायोग्य संगठन बनाउन सुशासन पहिलो कडि भएकोले अब सहकारीले त्यसलाई ध्यान दिनु पर्ने छ भने आकर्षक नारा मात्र दिएर नभई रणनीतिक रुपमा सदस्य केन्द्रित उत्पादनमूलक व्यवसायलाई जोड दिन सके सहकारीका सदस्य र सस्थागत विकास सम्भव हुने आजको मूलभूत आवश्यकता हो र दिवसको सार्थकता पनि हो ।
जय सहकारी, धन्यवाद ।