बर्दघाट । नवलपरासीकाे बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिपक लम्सालको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष लम्सालले अध्यक्षको संस्थागत प्रतिवदेन, उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना संयोजक कमल थापाले खानेपानी सुरक्षा योजनाको प्रगति प्रतिवेदन, सचिव एवं सरसफाई उपसमिति संयोजक शोभाकान्त कोइरालाले सचिवको प्रतिवेदन, संस्थाकी कोषाध्यक्ष एवं निर्माण उपसमिति संयोजक राधादेवी अधिकारीले कोषाध्यक्षको प्रतिवेदन, लेखा समितिका संयोजक नारायण भण्डारीले लेखासमितिको प्रतिवेदन साधारण सभामा पेश गर्नु भएको हो । उहाँहरुले साधारण सभामा पेश गर्नु भएका सबै प्रतिवेदनहरु सभाले पास गरेको छ ।
संस्थाले गत आर्थिक बर्ष २०८१।०८२ मा १ करोड ७४ लाख ८७ हजारको बार्षिक कारोबार गरी ६ लाख बढी बचत गर्न सफल भएको कोषाध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा अध्यक्ष लम्सालले चालु आर्थिक बर्ष २०८२।०८३ मा थप ५० धरधुरीमा नयाँ धारा जडान गर्ने र २४ सै घण्टा पानी वितरण गर्ने योजना रहेको बताउनु भयो ।
४ हजार २२१ निजी तथा संस्थागत धारा रहेको खानेपानी २०५५ सालमा स्थापना भएको थियो । ५० वटा सार्वजनिक धाराबाट सञ्चालन गरिएको खानेपानीले अहिले करिब २० हजार जनसंख्यालाइ शुद्ध पानी वितरण गरिरहेको छ ।
अध्यक्ष लम्सालले संस्थालाई सुशासनयुक्त बनाउँदै, पानी चुहावट रोक्ने, पूर्ण सरसफाई अभियान सञ्चालन गर्ने, बातावरणमैत्री कपडाको झोला वितरण र शुन्य फोकर अभियान सञ्चालन गर्ने, उपभोक्ताको गुनासो सुन्न सुनाई कक्ष र गुनासो पेटीका राख्ने र जिल्ला भर खानेपानी गुणस्तरको जाँच गर्ने जस्ता दर्जनवढी नयाँ कार्यक्रम पनि घोषणा गर्नु भएको छ ।