सरावल । सरावल गाउँपालिकाले शनिवार पालिका भित्रका लघु, घरेलु, साना र ठूला उद्योगमा अनुगमन गरेको छ । पालिकाले उद्योगमा श्रम तथा रोजगारको अवस्था, वातावरणीय प्रभाव, सुरक्षा र नीतिगत व्यवस्था तथा सामाजिक सुरक्षा कोषको प्रयोग गरे।नगरेको विषयमा अनुगमन गरेको हो ।
गाउँपालिकाले गत बिहिवार श्रम तथा रोजगार व्यवस्थापन कार्यविधि २०८२ को मस्यौदा तयार गरेसँगै आज पालिका भित्रका केही घरेलु, साना र ठूला उद्योगमा अनुगमन गरेको हो । गाउँपालिका भित्र संचालिन एग्रो उद्योग, स्टील उद्योग, भवन निर्माण, होटल व्यवसाय लगायतका क्षेत्रमा अनुगमन गरिएको छ ।
गाँउपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरी, उपाध्यक्ष बासमती हरिजन र उद्योग शाखाका प्रमुख राजन बश्यालको अगुवाईमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।
सो अवसरमा संविधान सभा सदस्य एवं इन्द्रेणी सामाजिक विकास मंचका पूर्व अध्यक्ष विक्रम खनाल, उद्योग वाणिज्य संघ सरावलका अध्यक्ष शुसान्तशर्मा घिमिरे, इन्द्रेणीकी उपाध्यक्ष धनमती सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
सरावलमा गएको ५ महिनादेखि अनौपचारिक श्रमिक महिलाको श्रम र रोजगारको अवस्थाका बारेमा कार्यक्रम सञ्चालन भईरहेको कार्यक्रमका सम्पर्क व्यक्ति विश्वप्रकाश भट्टराईले जानकारी दिनुभयो ।