काठमाडौं । नेकपा (एमाले)ले ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । महाधिवेशनको मिति नजिकिएसँगै पार्टीले महाधिवेशनको समुदघाटन, प्रतिनिधि व्यवस्थापन, आवाश, खाना तथा अन्य कामको तिव्रता बढेको एमालेले जनाएको छ ।
पार्टी केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटेका छन् ।
महाधिवेशनमा आउने मध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आउने बताए । १ सय ८ जना केन्द्रबाट प्रतिनिधि मनोनित हुनेछन् । मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने विभागका प्रमुख अधिकारीले जानकारी दिनु भयो । तत्कालीन नेकपा (एस) को ‘घरफर्क अभियान’बाट आउने मध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन् । उनीहरुको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले जनाएको छ ।
एमालेको महाधिवेशन बन्दसत्र हलमा प्रतिनिधि बाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रुपमा प्रवेश गर्दैछन् । उनीहरु सल्लाहकार परिषद्का सदस्यहरु हुन् । सल्लाहकार परिषद्मा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन् । प्रतिनिधि हुन नसकेकाहरुलाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको हो ।
प्रतिनिधि र सहभागी गरी महाधिवेशन बन्दसत्रमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन् । विभागले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधिहरुको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ । हालसम्म ७० प्रतिशत कार्ड छपाई सकिएको केन्द्रीय कार्यालयले जनाएको छ ।
आगामी २५ गतेभित्र सम्पूर्ण प्रतिनिधि र कार्ड छपाइको काम सकिने केन्द्रीय कार्यालयले जनाएको छ । एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा समुदघाटन र काठमाण्डौको मृकुटि मण्डपरमा बन्दसत्र हुदैछ ।