परासी । रामग्राम नगरपालिकाले लैङ्गिक हिंसा बिरुद्धको १६ दिन अभियान बिभिन्न रचनात्मक कार्यक्रम गरी सम्पन्न गरेको छ । गत मंसिर ९ गते अर्थात नोभेम्बर २५ देखि मंसिर २४ अर्थात डिसेम्बर १० तारिखसम्म १६ दिने कार्यक्रम गरी मनाइएको हो ।
मंसिर ९ गते १६ दिने अभियानको प्रभातफेरी र सेतो रिवन बितरण गरी समुदघाटन गरिएको हो भने रामग्राम नगरपालिकाका १८ वटै वडाहरूमा सचेतनामूलक ब्यानरहरू राखियो । यस्तै नगरपालिकाका कर्मचारीहरू र स्वास्थ्यकर्मीहरूलाई यौन तथा लैङ्गिक हिंसा सम्बन्धी अभिमूखिकरण गरिएको छ । युवा समूह, स्वास्थ्य हेल्थ भोलेन्टियर र महिला स्वास्थ्य स्वयंसेविकाहरूबीच अभिमुखिकरण गरिएको महिला बालबालिका शाखा प्रमुख तारादेवी अर्यालले जानकारी दिनुभयो ।
यस्तै अभियानकै क्रममा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरूलाई यौन तथा लैङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण र सामुहिक आचार संहिता वाचन गरिएको छ ।
कार्यक्रम अन्तर्गत नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँग रामग्राम नगरपालिकामा संचालित परियोजना र पालिकाले लिएको नीतिगत व्यवस्थाका बारेमा सूचना संप्रेषण र बहस कार्यक्रम गरिएको छ ।
रामग्राम नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी यौन तथा लैङ्गिक हिंसा सम्बन्धी कक्षा पनि सञ्चालन गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले जानकारी दिनुभयो ।
यस्तै १६ दिने अभियान अन्तर्गत सडक नाटक, कार्यक्रमको प्रभावकारीताको समिक्षा गरी लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन गरिएको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाका प्रमुख अनुप खड्काले जानकारी दिनुभयो । परियोजना प्रमुख खड्काका अनुसार १६ दिने अभियानमा प्रत्यक्ष तर्फ करिव ७ सय र अप्रत्यक्ष रुपमा झण्डै २ हजार पाँच सय ९० जनाले सहभागिता जनाएका छन् ।