काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदान काठमाण्डौको भृकुटीमण्डमा हुन लागेको हो । निर्वाचन तालिका अनुसार आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ ।
मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । २ हजार २६३ प्रतिनिधि मतदानमा सहभागी हुँदैछन् मतदान सकिएपछि आजै भृकुटीमण्डमा मतगणना हुने बताइएको छ ।
अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिनु भएको छ ।
केपी ओली पक्षबाट उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, गुरु बराल र पृथ्बीसुब्बा गुरुङले उम्मेदवारी दिनु भएको छ । ओली पक्षबाट महासचिवको उम्मेदवार बन्ने तयारी गरेका प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी दिन अस्वीकार गर्नु भयो । महासचिव नपाएपछि ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर पदाधिकारीमा नबस्ने निर्णय गर्नु भएको बुझिएको छ ।
त्यस्तै, ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार बनेका बन्नु भएको छ भने उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टले उम्मेदवारी दिनु भएको छ ।
त्यसैगरी, सचिवमा पद्मा अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, महेश बस्नेत, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकालले उम्मेदवारी दिनु भएको छ ।
प्रचार विभाग प्रमुखसमेत रहेका राजेन्द्र गौतमले उपमहासचिवमा समूहविना नै उम्मेदवारी दिनु भएको छ भने अग्नि खरेल र लालबाबु पण्डितले सचिवमा स्वतन्त्र उम्मेदवारी दिनु भएको हो ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट, अरुण नेपाल, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र रघुजी पन्तले उम्मेदवारी दिनु भएको छ ।
त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेलले उम्मेदवारी दिनु भएको हो ।
त्यस्तै पोखरेल समूहबाटै सचिवमा गोकुल बास्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिनु भएको छ ।
यसैबीच केही पदाधिकारी निर्विरोध निर्वाचित भए,
एमालेको अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पदसहित १४ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
अनुशासन आयोगको अध्यक्षमा प्रा।डा। भरतराज पहाडी, उपाध्पक्ष चक्रबहादुर पराजुली र सचिव राजेन्द्र घिमिरे निर्विरोध हुनुभयो ।
लेखा आयोगको अध्यक्षमा डा। पुष्पराज कँडेल, उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध हुनु भएको छ । केन्द्रीय सदस्यहरुमा युवा खुलामा नरेश रोकाय, सुशील थापा, मधेशी युवामा अमरकुमार यादव, मुस्लिम महिलामा खाजिदा खातुन सिद्दिकी, श्रमिक महिलामा कमलादेवी तामाङ र सिता लामा निर्वाचित हुनु भएको हो ।
पिछडिएको महिलामा बदमी क्वाँरी बुढा र प्रवाश दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे पनि निर्विरोध निर्वाचित हुनुभयो ।