परासी । परासी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १८औ वार्षिक साधारण सभा शनिबार परासीमा सम्पन्न भएको छ । सहकारीले २०६५ सालदेखि परासी क्षेत्रमा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज सञ्चालनमा ल्याएको हो। "शिक्षा सूचना र मनोरञ्जनको विकासका लागि सामुदायिक रेडियो परासी" भन्ने मूल नाराका साथ सहकारीले १८ औ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षता र पूर्व स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।
सो अवसरमा बोल्दै पूर्वमन्त्री त्रिपाठीले सामुदायिक रेडियो परासीले नवलपरासी र आसपासको क्षेत्रमा सूचना र सञ्चारका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ। पूर्वमन्त्री त्रिपाठीले देशको जटिल परिस्थितिमा सञ्चारको भूमिका अझ महत्वपूर्ण हुनुपर्ने बताउनुभयो ।
यस्तै पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलले सामुदायिक रेडियो परासी यस क्षेत्रको अग्रणी सञ्चार माध्यम भएको बताउनुभयो । उहाँले रेडियोको समावेशी आवाज नारालाई प्राथमिकता दिँदै निरन्तर प्रसारणमा जोड दिनुपर्ने बताउनुभयो ।
यस्तै साधारण सभामा संविधान सभा सदस्य अलाउँदिन अन्सारीले सहकारीको भावनाअनुसार सहकार्य र सहअस्तित्व स्थापना गर्न समुदाय स्तरमा रेडियोले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ।
१८ औँ वार्षिक साधारण सभाको अवसरमा संस्थापक अध्यक्ष सुमन गोपाल आचार्यले सामुदायिक रेडियो परासी समुदायको आफ्नै रेडियो भएकोले यस क्षेत्रका हरेक तह र समुदायलाई समेट्दै रेडियोको कार्यक्षेत्रलाई फराकिलो बनाउने विश्वास व्यक्त गर्नुभयो
साधारण सभामा संगठनात्मक प्रतिवेदन सचिव तोरेन्द्र जिसी, संस्थाको लेखा प्रतिवेदन कोषाध्यक्ष चन्द्रमणि चौधरी र लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक पेउ नारायण न्यौपानेले प्रस्तुत गर्नुभएको हो। सबै प्रतिवेदनहरू साधारण सभाले सर्वसम्मत पास गरेको छ।
साधारण सभामा बोल्दै अध्यक्ष रेश्मीले स्वर्गीय धर्मपत्नी कमला रेश्मीको नाममा एक लाख रुपैयाँको स्मृति कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ।