सुनयना चौधरी, पुस २९ नवलपरासी ।
पुसको अन्तिम रात, जब सिङ्गो संसार निद्रामा हुन्छ, थारु बस्तीका चुलोहरूमा आगो बलिसकेको हुन्छ । ढिकीको आवाज र चामलको पिठोको सुगन्धले गाउँ नै सुगन्धित भएको महसुस हुन्छ । यो कुनै साधारण बिहानी हुँदैन, यो थारु समुदायको ’महान् पर्व’ माघीको स्वागतका लागि हुने गर्दछ । थारु संस्कृतिमा माघीलाई नयाँ वर्ष, मुक्तिको दिन र नयाँ सुरुवातका रूपमा लिइन्छ । तर, यो उत्सवको भित्री तहमा पसेर हेर्ने हो भने, यसलाई जीवन्त राख्ने मुख्य शक्ति घरका महिलाहरू हुन् ।
नवलपरासी पश्चिम थारु समुदायको महान् पर्व माघीको अवसरमा नवलपरासीका थारु बस्तीहरू यतिबेला बेहुली झैँ सजिएका छन् । पुसको चिसोलाई बिर्सिँदै थारु महिलाहरू आफ्नो संस्कृति र परम्परा जोगाउन अहोरात्र खटिएका हुन्छन् ।
बर्दघाट नगरपालिका वडा नं.४ की तारादेवी थारु यतिबेला निकै व्यस्त हुनुहुन्छ । माघीको अघिल्लो रात (जिता मरवा, मछवारी) देखि नै उहाँको हात थामिदैन । तारादेवीका अनुसार, माघीमा महिलाहरूको मुख्य भूमिका धार्मिक शुद्धता कायम राख्नु हो । “हामी बिहानै झिसमिसेमा नदीमा पुगेर “मघौटा” नुहाउँछौँ, तारादेवी भन्नुहुन्छ, “नुहाएर आएपछि घरको दैलोमा जल छर्कने र पितृको पूजा गर्ने कामले घरमा शान्ति र समृद्धि ल्याउँछ भन्ने हाम्रो विश्वास छ ।”
त्यस्तै, बर्दघाट–१ माकरकी गौरी चौधरीका लागि माघी भनेको ’निस्राउ’ (उपहार) को पवित्र पर्व हो । उहाँले स्नान गरेर आएपछि सबैभन्दा पहिले आफ्ना विवाहित छोरीचेलीका लागि अन्न चामल र मासको दाल छुट्याउनु हुन्छ । गौरी भन्नुहुन्छ, “निस्राउ केवल अन्नको थुप्रो होइन, यो त हाम्रा चेलीबेटी र माइतीबीचको कहिल्यै नटुट्ने प्रेमको प्रतीक हो । यो संस्कार हामीले हाम्रा बजैहरूबाट सिकेका हौँ र अहिले नयाँ पुस्तालाई सिकाउँदै छौँ ।”
त्यस्तै सरावल–२ अत्रहटीकी रेखा चौधरीको घरमा यतिबेला ढिक्री र अनदीको चिचर पकाउने तयारी भइरहेको छ । थारु महिलाहरूका लागि ढिक्री बनाउनु एउटा विशेष धार्मिक कला हो । रेखाले चामलको पिठोबाट शंख, चक्र र विभिन्न पन्छीका आकृतिहरू बनाउनु भएको छ । रेखा भन्नुहुन्छ, “हामीले बनाएका यी आकृतिहरू पहिले देवतालाई चढाइन्छ, महिलाहरूले भान्छामा गर्ने यो मिहिनेत नै माघीको वास्तविक स्वाद र संस्कार हो ।”
बर्दघाटकी तारादेवी र गौरीदेखि सरावलकी रेखा चौधरीसम्म, यी प्रतिनिधि पात्रहरूले नै थारु संस्कृतिलाई जीवन्त राखेका छन् । आधुनिकताको लहरमा पनि उनीहरूले आफ्नो पुख्र्यौली संस्कार, भाषा र भेषभूषालाई गौरवका साथ अँगालेका छन् । माघी पर्वले यी महिलाहरूको धैर्य, आस्था र परिवारप्रतिको सम्र्पणलाई हरेक वर्ष पुनः ताजा गर्ने गर्दछ । माघी पर्व थारु समुदायका लागि केवल एउटा क्यालेन्डरको परिवर्तन मात्र होइन, यो त महिलाहरूले आफ्नो आस्थाको रङले भरेको एउटा जीवित कला र सभ्यता हो ।
तराईका भुमीपूत्र आदीबासी जनजाती थारु समुदायमा माघिको रौनक बढ्दै गएको छ । तीन दिन उल्लासपूर्वक धुमधामसँग मनाईने यो पर्वलाई थारु समुदायमा पुसको अन्तिम दिनबाट मनाइने गरिन्छ । माघी थारु समुदायको सबैभन्दा ठुलो पर्व र नयाँ बर्ष पनि हो । माघी पर्व सुरु भएसंगै थारु गाउबस्तीमा उल्लास बढेको छ । गाउघर माघी सम्बन्धी गीतले गुञ्जयमान छ । माघि पर्वमा खिचडि भात खाने र खिचडि मेला जाने भएकोले यसलाई खिचडि, खिचरा पर्व पनि भन्ने गरिन्छ ।

१. मघौटा स्नान : जल र जीवनको सम्बन्ध
माघीको वास्तविक धार्मिक अनुष्ठान सूर्योदय हुनुभन्दा निकै अघि सुरु हुन्छ । पुसको चिसोमा पनि थारु महिलाहरू समूह बनाएर नजिकैको नदी तलाउ वा पोखरीमा पुग्छन् । यसलाई ’माघि नुहाउने’ भनिन्छ । धार्मिक मान्यता अनुसार, माघीको दिन जलाशयमा गरिने स्नानले शरीर मात्र होइन, आत्मा पनि शुद्ध हुन्छ । महिलाहरूले जल देवताको पूजा गर्छन् । यो संस्कारले प्रकृति र मानवबीचको अटुट सम्बन्धलाई दर्शाउँछ । नुहाएर फर्कँदा खाली हात नफर्कने र तामाको लोटामा जल ल्याएर घरको दैलोमा छर्कने परम्परा छ, जसले घरभित्र सकारात्मक ऊर्जा र शुद्धता ल्याउने विश्वास गरिन्छ ।
२. निस्राउ : प्रेम र त्यागको धार्मिक सङ्गम
स्नान गरेर घर फर्किएपछि महिलाहरूले गर्ने सबैभन्दा पवित्र कार्य ’निस्राउ’ छुट्याउनु हो । आफ्नो भागको चामल, मासको दाल, तरकारी र नुनबाट केही अंश निकालेर छुट्टै राखिन्छ । यो ’निस्राउ’ विवाहित छोरीचेलीलाई उपहार (अगरासन, दान) दिनका लागि निकालिन्छ । यो केवल अन्नको दान मात्र होइन, यो माइती र चेलीबीचको सम्बन्धलाई नवीकरण गर्ने धार्मिक विधि हो । सरावल २ पटखौलीकी इनारी देवी थारु भन्नुहुन्छ, “हामीले जतिसुकै दुःख गरे पनि छोरीचेलीको भाग पहिला सुरक्षित राख्नुपर्छ, ।”
३. थारु परिकार ढिक्री र चिचर
थारु भान्छामा माघीको समयमा पाक्ने परिकारहरू केवल स्वादका लागि मात्र होइनन् । चामलको पिठोलाई बाफमा पकाएर बनाइने ’ढिक्री’ विभिन्न आकारका हुन्छन् । महिलाहरूले ढिक्री बनाउँदा शंख, चक्र, र विभिन्न पशुपन्छीको आकार दिन्छन्, जसको आफ्नै तान्त्रिक र धार्मिक अर्थ छ । त्यस्तै अनदीको चामलबाट चिचर बनाईन्छ । यी परिकारहरू पहिला कूल देवता र पितृहरूलाई अर्पण गरिन्छ । पितृ पूजा नगरी माघीको भोज सुरु हुँदैन । यसरी महिलाहरूले आफ्नो सीप मार्फत पितृहरूलाई खुसी पार्ने र परिवारमा स्नेह ल्याउने धार्मिक विश्वासलाई निरन्तरता दिइरहेका छन् ।
४. पहिरनमा झल्कने सभ्यता र ’मघौटा’ नाच
माघीको सांस्कृतिक पक्ष महिलाहरूको पहिरन र नाचबिना अधुरो हुन्छ । थारु पोसाक ’लेहंगा’, “अघिया ,झुलवा” र चाँदीका गहनाहरू— जस्तै गुडहुला , गोन्या (गोडामा लगाउने), हँसुली (घाँटीमा लगाउने), पाउजु ,माथा, बुहुटा (पाखुरामा लगाउने) ले सजिएका महिलाहरू जब ’मघौटा, झुम्रा’ नाचका लागि आँगनमा उत्रिन्छन्, तब थारु सभ्यताको वास्तविक सौन्दर्य देखिन्छ । मघौटा, झुम्रा नाचमा गाइने गीतहरूमा सृष्टिको उत्पत्ति, खेतीपाती र जीवनका भोगाइहरू समेटिएका हुन्छन् । यी गीतहरू पुस्तौँदेखि मौखिक रूपमा महिलाहरूले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै आएका छन् । यसरी उनीहरू एउटा अदृश्य ’सांस्कृतिक शिक्षिका’ को भूमिकामा देखिन्छन् ।
५. व्यवस्थापन र सामाजिक न्याय
माघीको समयमा थारु समुदायमा ’खोज्नीबोज्नी’ गरिन्छ, जहाँ वर्षभरिको हिसाबकिताब र नयाँ नेतृत्व भल्मन्सा, मुखिया र बडखर चयन हुन्छन । यद्यपि बाहिरी रूपमा पुरुषहरूको सहभागिता बढी देखिए पनि घरभित्रको सल्लाह र आर्थिक व्यवस्थापनमा महिलाहरूको निर्णय नै अन्तिम हुन्छ । कसलाई कति दान दिने, पाहुनाको सत्कार कसरी गर्ने र नयाँ वर्षको योजना कसरी बनाउने भन्ने कुरामा महिलाहरू नै निर्णायक भूमिकामा हुन्छन् ।
आजको बदलिँदो समयमा प्रविधि र आधुनिकताले थारु बस्तीहरूलाई पनि छोएको छ । तर, माघीको त्यो मौलिक बास्ना र संस्कार अझै हराएको छैन । किनकि, हरेक थारु घरमा एकजना आमा, दिदी वा बहिनी छिन्, जसले चिसो नदीमा नुहाएर ’निस्राउ’ छुट्याउँदै गर्दा आफ्नो संस्कृतिलाई मर्न दिएकी छैनन् । माघी पर्व वास्तवमा थारु महिलाहरूको साहस, श्रद्धा र सृजनशीलताको महाकुम्भ हो । उनीहरूले जोगाएको यो संस्कार नै थारु समुदायको वास्तविक सम्पत्ति हो । २०८२ साल माघ १ गतेबाट थारु सम्बत २६४९ सुरु हुने थारु कल्याणकारी सभा नवलपरासीका जिल्ला अध्यक्ष मुद्रिका चौधरीले बताउनु भयो ।