काठमाण्डौं । नेपाली काँग्रेस संस्थापन इतर समूहले आयोजना गरेको विशेष महाधिवेशनको समुदघाटन समारोह आइतबार काठमाण्डौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ । समुदघाटन शुरु हुनअघि सहभागीहरु काठमाण्डौंका विभिन्न स्थानहरुबाट जुुलुसमा सहभागी भएका थिए । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ ।
विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पार्टीका लागि महाधिवेशन सर्वोच्च निकाय भएकाले महाधिवेशनले गर्ने निर्णय सर्वमान्य हुने बताउनु भयो । उहाँले विशेष महाधिबेशनको बन्द सत्र भोलि हुने र बन्दसत्रले पार्टीको नीति तथा नेतृत्व दुबै परिवर्तन गर्न सक्ने बताउनुभयो ।
यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले उनले विशेष महाधिवेशन कुनै भीड प्रदर्शन नभई अनुशासित र जिम्मेवार राजनीतिक व्यक्तीहरुको अभिव्यक्ति हुने बताउनुभयो । महामन्त्री शर्माले बन्दसत्रबाट हुने निर्णयले कांग्रेसको आगामी राजनीतिक कार्यदिशा मात्र नभई देशकै भविष्य बदल्ने आधार तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महाधिवेशन स्थलमा पदाधिकारीबाट दुई महामन्त्री र सहमहामन्त्री फरमुल्लाह मन्सुर सहभागी हुनु भयो । यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी तथा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि सहभागी बन्नु भयो ।
केन्द्रीय सदस्यहरूमा प्रदीप पौडेल, चन्द्र भण्डारी सहित २८ जना नेताहरु सहभागी बन्नु भएको हो ।
यसैबीच विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढ्दै जान थालेको महाधिवेशन पक्षका नेताहरुले बताएका छन् । कांग्रेसमा ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि छन् । देशभरबाट काँग्रेसका ५४ प्रतिशतभन्दा बढी महाधिबेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका थिए ।