काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको छ । निर्वाचन आयोगले शुक्रबार थापा नेतृत्वको कांग्रेसलाई नै वैधानिकता दिएपछि सबैलाई एकजुट हुन आह्वान गर्नुभएको हो।
निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको भन्दै सभापति थापाले आभार व्यक्त गर्नुभएको हो। नेपाली कांग्रेसका सदस्यहरू र शुभेच्छुकले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल भएको कांग्रेस सभापति थापाले भन्नुभएको छ ।
‘यसले स्थापित गरेको छ–पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ । अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ’, थापाको अपिलमा भनिएको छ, ‘विशेष महाधिवेशनमा सहभागी हुनुभएका–नहुनुभएका, सहमत हुनुभएका–नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु – यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन – कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं ।’
अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको र रिफर्मको यात्रा शुरु भइसकेको थापाको दाबी छ । अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भएर लाग्नुपर्ने सभापति थापाको जोड छ ।
थापाले अब नेपाली कांग्रेसलाई अगाडी बढाउन पूर्वसभापति शेरबहादुर देउवा लगायत पार्टीमा आवद्ध विभिन्न तह र निकायमा रहेका नेताकार्यकर्ताबाट साथ पाउने विश्वास व्यक्त गर्नुभयो । अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने थापाको दाबी छ ।(दैनिक नेपाल)
