परासी। आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासीका विभिन्न राजनीतिक दलहरूले उम्मेदवारको नाम सिफारिस गरेका छन्। आज मनोनयनको तयारी भइरहेको विभिन्न राजनीतिक दलले जनाएका छन्।
नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी फोरम लगायतका पार्टीले उम्मेदवार को नाम सिफारिस गरेका हुन् ।
नेकपा एमालेले नवलपरासी क्षेत्र नं १ बाट सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष रामप्रसाद पाण्डेलाई सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ बाट नेकपा एमाले क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक लेखनाथ खरेललाई सिफारिस गरिएको पार्टी केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज सरिता भुसाल खनालले जानकारी दिनुभयो
.jpg)
नेपाली काङ्ग्रेसले नवलपरासी क्षेत्र नम्बर १ बाट कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद विनोद चौधरीलाई सिफारिस गरेको छ। भने क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेललाई सिफारिस गरेको छ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नवलपरासी क्षेत्र नम्बर १ बाट सिन्धु जलेसालाई सिफारिस गरिएको छ । यस्तै क्षेत्र नम्बर २ बाट देवेन्द्र पौडेललाई उम्मेदवार बनाउने सिफारिस गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका नेता एवं लुम्बिनी प्रदेशका पूर्व महामन्त्री विक्रम खनाललाई सिफारिस गरेको छ। नेपाली काङ्ग्रेसबाट क्षेत्र नम्बर १ मा बिनोद चौधरीलाई पार्टीले उम्मेदवार सिफारिस गरेपछि उहाँ रास्वपाबाट उम्मेदवार बन्नुहुने भएको हो । यस्तै क्षेत्र नम्बर २ बाट रास्वपाले रामग्राम नगरपालिकाका निवर्तमान नगर प्रमुख एवं नेपाली कांग्रेसका नेता नरेन्द्रकुमार गुप्तालाई उम्मेदवार सिफारिस गरेको छ।
जसपा नेपाल सहितको मधेसी मोर्चाको समर्थनमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई क्षेत्र नम्बर १ बाट सिफारिस गरिएको छ । त्रिपाठी यस अघिको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काङ्ग्रेसका बिनोद चौधरीसँग उपविजेता बन्नुभएको थियो ।
यस्तै क्षेत्र नम्बर २ बाट जसपाले पूर्वमन्त्री समेत रहनुभएका रामवचन यादवलाई उम्मेदवार सिफारिस हुनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपरासी क्षेत्र नं १ बाट नवनीत मिश्रालाई उम्मेदवार बनाउने भएको छ भने क्षेत्र नम्बर २ बाट निवर्तमान सांसद एवं पूर्वमन्त्री समेत रहेका ध्रुवबहादुर प्रधानलाई उम्मेदवार सिफारिस गरेको सो पार्टीले जनाएको छ ।
जिल्लामा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयनको समय तालिका सार्वजनिक गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयले निर्वाचन आचार संहिता लागू भइसकेकोले सोही अनुसार तामझाम नगरी मनोनयन दर्ता गर्न दलहरुलाई आग्रह गरिएको छ ।