सुनवल । महाशिवरात्री पर्वको अवसरमा नवलपरासी पश्चिम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लेखनाथ खरेलले जिल्लाका विभिन्न शिवालय मन्दिरहरूमा पुगेर पूजा–अर्चना तथा दर्शन गर्नुभएको छ ।
उम्मेदवार खरेलले सुनवलको बाबा बर्दगोरिया धाम, बैरागनाथ मन्दिर, बडेरा स्थित शिव मन्दिर, ओम्कारेश्वर मन्दिर लगायत जिल्लाका विभिन्न शिवालयहरूमा श्रद्धापूर्वक पूजा गर्नुभएको हो । मन्दिर दर्शनको क्रममा भेटिएका आम मतदाताले उम्मेदवारप्रति आफ्ना अपेक्षा खुलेर व्यक्त गरेका छन्।
मतदाताले “धर्म, संस्कृति र आस्थाको संरक्षणसँगै विकास र रोजगारीको चाहना” प्रमुख विषय भएको बताए थिए। उनीहरूले स्थानीय सडक, सिँचाइ, शिक्षा र स्वास्थ्यमा देखिएको खाडल योजनाबद्ध रूपमा पूर्ति गर्न उम्मेदवार खरेललाई आग्रह गरेका छन्। नागरिकहरूले “नेतृत्व इमानदार र सुन्ने खालको होस्” भन्ने भावना व्यक्त गरेका छन् ।
विशेषतः धार्मिक स्थलहरूको संरक्षण, व्यवस्थापन र पर्यटन प्रवर्द्धनमा राज्यको ध्यान आवश्यक रहेको मतदाताको साझा चासो छ ।
उम्मेदवार खरेलले जनभावनालाई ध्यानपूर्वक सुन्दै धर्मको मर्मबारे साङ्केतिक रूपमा आफ्ना धारणा राख्नुभयो। उहाले धर्मलाई विभाजनको होइन, सेवा, सत्य र सामाजिक उत्तरदायित्वसँग जोडेर बुझ्नुपर्ने बताउनुभयो “आस्था भनेको कर्मसँग जोडिन्छ; कर्म राम्रो भए समाज बलियो बन्छ” भन्ने भाव व्यक्त गर्दै उनले शान्ति, सद्भाव र न्यायको बाटोमा हिँड्न आग्रह गर्नुभयो ।
उम्मेदवार खरेलले धर्म–संस्कृतिको सम्मान, जनताको दुःख–सुखमा साथ र विकासप्रति प्रतिबद्धता नै विश्वासको आधार हुने बताउनुभयो। महाशिवरात्रीको पावन अवसरमा गरिएको यो मन्दिर दर्शनले उम्मेदवार र मतदाताबीच धार्मिक एवं भावनात्मक संवाद भएको छ ।
स्थानीय मतदाता र नागरिकहरूलाई भेटघाट गर्ने क्रममा स्थानीय नागरिकले एमाले उम्मेदवार खनाल लाई आस्थाको केन्द्रमा बसेर सुन्ने र बुझ्ने नेतृत्व बन्नुपर्ने अपेक्षा लिएका छन्। उम्मेदवार खरेलले जनताको मन र मत जित्ने र उनीहरूको विश्वास कर्मबाट जित्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।