टेक हरिजन, परासी । नेकपा एमालेले नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै विस्तृत पालिका स्तरीय भेला सोमबार सम्पन्न गरेको छ । संगठन सुदृढीकरण, चुनावी घोषणापत्र कार्यान्वयन, अधुरा विकास योजनाको समीक्षा तथा मतदाता केन्द्रित अभियानलाई एकीकृत रूपमा अघि बढाउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको हो । भेला अशोक राजभरको अध्यक्षता र नेकपा एमालेकी केन्द्रीय सदस्य लक्ष्मी क्षेत्रीको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा प्रदेश सदस्य थानप्रसाद गैरे, समानुपातिक उम्मेदवार रिङ्गला यादव, एमाले नेता श्याम बस्याल लगायतको सहभागिता रहेको थियो । भेलाले राजभरकै संयोजकत्वमा १०१ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको छ । जसको उपाध्यक्षमा स्वामिनन्द मौर्य र सचिवमा अफताब आलम अन्सारी (मुन्ना) लाई जिम्मेवारी दिएको छ । यस्तै गाउँपालिका पालिकाका ६ वटै वडालाई समेटेर निर्वाचन परिचालन समिति गठन गरिएको छ भने जिल्ला कमिटी सदस्यहरूलाई समावेश गरी एक अनुगमन समिति पनि गठन गरिएको नेता गैरेले जानकारी दिनुभयो ।
गठन भएको समितिहरुले निर्वाचनसम्म संगठनात्मक गतिविधिलाई तीव्र पार्ने, जनतासँग प्रत्यक्ष संवाद बढाउने र घोषणा पत्रका कार्यक्रम स्थानीय तहसम्म पुर्याउने जिम्मेवारी पाएका छन्।
कार्यक्रममा एमाले नेताहरूले पाल्हिनन्दनमा वर्षौंदेखि अधुरा रहेका सडक, सिँचाइ, खानेपानी, स्वास्थ्य संस्था स्तरोन्नति र शिक्षा पूर्वाधारका योजनालाई प्राथमिकताका साथ सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेताहरूले स्थानीय विकासका एजेण्डाहरू अघि सार्दै कृषिमा आधुनिक प्रविधि विस्तार, युवाका लागि रोजगारी सिर्जना, सामाजिक सुरक्षा मजबुत बनाउने तथा आर्थिक गतिविधि बढाउने नीति पनि अघि सारिएको बताएका हुन् ।
नेताहरूले आगामी प्रतिनिधि सभा निर्वाचनलाई “स्थानीय विकासको निर्णायक अवसर” का रूपमा व्याख्या गर्दै संगठन, कार्यकर्ता र जनताबीच सहकार्य बढाएर विकासमुखी राजनीतिक वातावरण निर्माण गर्ने अठोट व्यक्त गरेका छन् । सम्पन्न भेलाले चुनावी तयारीसँगै पाल्हिनन्दनको दीर्घकालीन विकास रोडम्याप तय गर्ने रणनीतिक पहलका रूपमा हेरिएको छ ।