परासी । पाल्हीनन्दन गाउँपालिकाले गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबारदेखि शुरू गरेको छ । फाल्गुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पालिका भित्रका १३ बटा सामुदायिक र संस्थागत विद्यालयको सहभागिता रहेको हरपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक राजाराम गुप्ताले जानकारी दिनुभयो । गाउँपालिकाको आयोजना र हरपुर माध्यमिक विद्यालयको सहआयोजनामा शुरू भएको प्रतियोगितामा भलिबल, कबर्दी र एथेलेटिक्सका ३० बढी खेल सञ्चालन हुनेछन् ।
पाल्हीनन्दन गाउँपालिकामा १५ वटा सामुदायिक, १५ वटा संस्थागत, १३ वटा मदरसा र १ वटा धार्मिक विद्यालय गरी ४४ वटा विद्यालय सञ्चालनमा छन् । यी सबै विद्यालयमध्ये माध्यमिक तहका १३ वटा विद्यालय मात्र प्रतियोगितामा सहभागी भएको आयोजक विद्यालयले जनाएको छ ।
पाल्हीनन्दन गाउँपालिकाले चौथो पटक गर्न लागेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिवल, कबर्दी, दौड, उफ्रिने र फ्याक्ने(हाइजम्प, लङजम्प, ट्रिपलजम्प, ज्याभलिङ्ग थ्रो, सटपुट) लगायतका खेल सञ्चालन गरिने खेल संयोजक मनोजकुमार चौधरीले जानकारी दिनुभयो ।
मंगलबार एक औपचारीक कार्यक्रमका बीच जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव र गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दिपकले शुभारम्भ गर्नु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्जय कुमार शर्माले जानकारी दिनुभयो । यसअघि पाल्हीनन्दन ५ गेर्मी स्थित राजनारायण माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ्ग शिल्ड जितेको थियो । (छात्राहरूको कपर्दी प्रतियोगिता भिडियो)