काठमाडौं — साफ महिला च्याम्पियनसिप २०२६ लाई लक्षित गर्दै नेपालले ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। प्रतियोगिताको तयारीलाई तीव्रता दिन राष्ट्रिय टोलीका प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा बन्द प्रशिक्षण सञ्चालन गरिने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीको बन्द प्रशिक्षण आगामी अप्रिल २७ देखि एन्फा कम्प्लेक्समा सुरु हुनेछ। प्रशिक्षण अवधिमा खेलाडीहरूको प्रदर्शन मूल्याङ्कन गर्दै अन्तिम टोली छनोट गरिने बताइएको छ।
यस वर्षको साफ महिला च्याम्पियनसिप मे २५ देखि जुन ७ सम्म फतोर्डा स्टेडियममा आयोजना हुनेछ। प्रतियोगितामा नेपालले पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित तयारी अघि बढाएको छ।
नेपाली महिला फुटबल टोली पछिल्ला प्रतियोगिताहरूमा उपविजेतामा सीमित हुँदै आएको सन्दर्भमा यसपटक उपाधि जित्ने लक्ष्यसहित तयारीमा जुटेको हो। प्रशिक्षक न्यौपानेले युवा तथा अनुभवी खेलाडीको समिश्रणसहित सशक्त टोली निर्माण गर्ने योजना बनाएको बताउनुभएको छ ।
नेपाली महिलाहरूको टोली :
अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, बिमला बिक, बिमला चौधरी, बिर्सना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मीना देउबा, नेहा कुमारी चौधरी, निशा थोकर, पूनम चेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, सिलु परियार, सुक्रिया मियाँ, सुशिला कुमारी, उषा नाथ ।