परासी । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नवलपरासीको रामग्राम नगरपालिकामा दिवसको अवसरमा सचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको छ । यस बर्ष “सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यक्रम सहितको अवसर” भन्ने नारा तय गरिएको हो ।
रामग्राम नगरपालिकाको आयोजना र द ल्याप्रोसि मिसन टु नेपाल जस्ता संघसंगठनहरूको सहकार्यमा सडक नाटक प्रस्तुत गरिएको छ । रामग्राम नगरपालिका वडा नं. ७ उजैनीमा समूदाय स्तरमा पुगेर लैङ्गिक हिंसा विरूद्धको अभियान सञ्चालन गरिएको हो ।

नगरपालिकाकी उपप्रमुख संझना चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा रामग्राम स्तरीय पुरुष सञ्जालका संयोजक मेघराज गौतम, लैङ्गिक हिंसा न्यूनिकरण विज्ञ अनुप खड्का लगायतले दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा मादक पदार्थ सेवन गरी महिलामाथि हिंसा, कुटपिट, इच्छाविपरित विवाह गर्न जोड गर्ने, मानसिक समस्या र स्वास्थ्य, समाजमा रहेको कुप्रथा र गलत सोंच, महिलामाथि हुने भेदभाव जस्ता विषय समेटेर सडक नाटक प्रस्तुत गरिएको हो । सडक नाटक स्थानीय भोजपुरी भाषामा प्रस्तुत गरिएको थियो ।
लैङ्गिक हिंसा अन्त्य केवल महिलाहरूको मात्र जिम्मेवारी नभई, पुरुषहरूको पनि सक्रिय सहभागिता अत्यन्तै आवश्यक हुने कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
