परासी । समुदायमा आधारित संघसंस्थालाई उपेक्षित उष्ण प्रदेशीय रोगको स्थानीयकरण तथा दिगोपनाका लागि अभिमुखीकरण कार्यक्रम आज बर्दघाटमा सम्पन्न भएको छ ।
इन्द्रेणी सामाजिक विकास मञ्च, पञ्चनगरको आयोजना, स्वास्थ्य कार्यालय नवलपरासीको समन्वय तथा फेयरमेडको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।
इन्द्रेणी सामाजिक विकास मञ्चका उपाध्यक्ष धनमती सापकोटाको अध्यक्षता तथा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अङ्गदबहादुर शाहीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहबाट सहभागी प्रतिनिधिहरूलाई उपेक्षित उष्ण प्रदेशीय रोगको अवस्था, रोकथाम, उपचार तथा नियन्त्रणमा समुदायमा आधारित संघसंस्थाको भूमिकाबारे अभिमुखीकरण गरिएको इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक पुष्पराज आचार्यले नेपाली चेली अनलाईनलाई बताउनुभयो ।
नेपालमा उपेक्षित उष्ण प्रदेशीय रोगअन्तर्गत मुख्यगरी कुष्ठरोग, हात्तीपाइले, कालाजार, सर्पदंश र ट्रकोमा लगायतका ११ रोगहरू रहेको कार्यक्रममा जानकारी गराइएको छ ।
कार्यक्रममा प्रेरणा परियोजना तथा फेयरमेड संस्थाले सञ्चालन गरेका विभिन्न परियोजनाका विषयमा संस्थाका तुलसीराम खनालले सहजीकरण गर्नुभएको छ भने स्वास्थ्य कार्यालय नवलपरासीका वरिष्ठ मलेरिया इनिस्पेक्टर निरीक्षक देवीलाल पौडेल, श्याम थापालगायतले रोगको पहिचान, रोकथाम तथा समुदायस्तरमा गर्नुपर्ने कार्यका विषयमा सहजीकरण गर्नुभएको हो ।